अपराधिक समूहले विप्लव नेकपाकाे नाम जाेडेपछि यस्तो चेतावनी दिए

156

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आर्थिक लाभको लागि केही अपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर काठमाडौंको मण्डिकाटारस्थित मनोहरराज घिमिरेको घरमा आक्रमण गरेको जनाएकाे छ ।  विप्लव नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी पवनले आइतबार एक विज्ञप्ति जारी गरेर उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको र घटनाको अनुसन्धान गर्दा अशोक शर्मा भट्ट र गणेश कुँवरको संलग्नता रहेको बताउँदै जनकारवाहीको चेतावनी दिएका छन् ।

सेक्रेटरी पवनले आफ्नो पार्टीलाई बदनाम गर्ने र आर्थिक लाभ उठाउने उद्देश्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघा नेपालका गोरखा संयोजक भट्ट र जनता समाजवादीका कार्यकर्ता गणेश कुँवरको उक्त घटनामा संलग्नता रहेको जनाइएको छ । “काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ मण्डिकाटारस्थित मनोहर राज घिमिरेको घरमा मिति २०७६।११।१६ गते करिब ४ बजेतिर हाम्रो जनप्रिय पार्टीको नाममा एक समुहले गरेको आक्रमणको घटनाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई घटनाको सुक्ष्म छानबिनमा पार्टी केन्द्रित भएको थियो । उक्त घटनामा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छौं । आर्थिक लाभको लागि र क्रान्तिकारी पार्टीको बदनाम गर्ने उद्देश्यमा आधारित उक्त अपराधिक घटनामा संसदवादी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’का गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गुल्मी घर भएका गणेश कुँवरसहित अपराधिक कार्यमा संलग्न हुँदै आएका केही व्यक्तिहरुको संलग्नता रहेको पार्टी अनुसन्धानबाट पुष्टि भएको छ” विज्ञप्तिमा उल्लेख छ । उनले सहिदको नाम जोडेर पार्टी र एकीकृत जनक्रान्तिलाई बदनामन गर्ने उद्देश्यले उक्त घटना घटाइएको भन्दै घोर भत्सर्ना एवं निन्दा समेत गरेका छन् ।

सेक्रेटरी पवनले उक्त उघटनालाई अपराधिक भन्दै पर्दा पछाडि केही व्यवसायी पनि जोडिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताएका छन् । उनले घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडि बसेका व्यक्तिहरुलाई पार्टीमा क्षामायाचना नगरे जनकारवाही गर्ने समेत चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडिको भुमिकामा राजनैतिक र ब्यवसायिक आवरणमा रहेका व्यक्तिहरु समेत यथाशीघ्र पार्टी समक्ष आएर आफ्नो गल्ती कमजोरी स्वीकार्दै  क्षमायाचना गर्न पार्टी कडा निर्देशनात्मक चेतावनी दिन चाहन्छ । अन्यथा पार्टी र क्रान्तिविरुद्ध यस प्रकारको गम्भीर अपराधजन्य हर्कतमा संलग्नहरुलाइ कडा कारवाही गर्न पार्टी  बाध्य हुने कुरापनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।”

त्यस्तै, पार्टीमा नाम जोडेर गरिएको उक्त घटनाबाट घिमिरेको घर र गाडीमा क्षति पुगेको भन्दै सेक्रेटरी पवनले दुःख समेत व्यक्त गरेका छन् ।

आर्थिक लाभ उठाउने र पार्टीलाई बदनाम गर्ने उद्देश्यले काठमाडौँमा यस्ता अपराधिक घटना भइरहेको सूचना पार्टीमा आएको बताउँदै उनीहरुलाई नछोड्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । सेक्रेटरी पवनले सचेत रहन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटना भए पार्टीलाई जानकारी गराउन समेत अपील गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here