काठमाडौं-कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाईन र शीतलपाटी सबस्टेशन आयोजना निर्माणको काम प्रारम्भिक चरणमै अड्किएको छ।
प्रसारणलाईनका लागि निर्धारण भएको रुटले हवाई रुटमा अवरोध पुग्ने देखिएपछि आयोजनाको काम अध्ययनको प्रारम्भिक चरणमै अल्झिएको हो। अहिलेकै अवस्थामा यो आयोजना अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलेसमेत विमति जनाएको छ।
कोशी करिडोर आयोजना प्रमुख राजन ढकालले हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईन बनाउने र त्यसका लागि उपयुक्त विकल्पबारे छलफल भईरहेको बताए। ‘यो प्रारम्भिक अध्ययनको क्रममै छ। हवाई रुट पर्ने भनेपछि हामी त्यसको विकल्प खोजिरहेका छौं,’ ढकालले भने। ‘हवाई रुट परेका ठाउँमा कम उचाईका टावरहरु राख्ने, प्रसारणलाईन नै भूमिगत बनाउने वा अर्को रुट निर्धारण गरेर जाने लगायतका विकल्पहरु छन। यो विषय चाँडै टुंगिन्छ।’
प्रसारणलाईनको प्रारम्भिक वातावरणीय अध्ययन नटुंगिदा एकातिर शीतलपाटी सबस्टेसनको ठेकापट्टाको काम रोकिएको छ भने अर्कोतिर निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुले समयमा प्रसारणलाईन नबन्दा उत्पादित विद्युत खेर जाने हो कि भन्ने चिन्ता गर्न थालेका छन्।
कोशी करिडोरमा उत्पादन आयोजनाका लागि लाईसेन्स लिएका, पिपिए भईसकेका र केही निर्माणाधीन अवस्थामा रहेका निजी क्षेत्रका आयोजनाले प्रसारणलाईन निर्माणमा देखिएको अन्याेलताबारे चासाे देखाएका हुन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले उपयुक्त विकल्प खोजेर प्रसारणलाईनको रुट चाँडै निर्धारण हुनुपर्ने मागसमेत गरेको छ।
यो करिडोरमा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुमा समान ५ मेगावाटका चिर्खुवा खोला १ र २, इर्खुवा खोलामा ५, १० र १५ मेगावाटका तीन वटा आयोजना र संखुवा खोलामा समान ४० मेगावाटका २ वटा आयोजना रहेका छन। त्यस्तै सिसुवा खोला १३ मेगावाट, अप्सुवा खोला ४५ मेगावाट, इसुवा खोला ९७ मेगावाट र कसुवा खोला ४५ मेगावाट पनि यही प्रसारणलाईनमा जोडिने आयोजनाहरु हुन। अहिले ५ मेगावाटको चिर्खुवा खोला, १० मेगावाटको इर्खुवा खोला र ९७ मेगावाटको कसुवाखोला जलविद्युत आयोजना निर्माणाधीन छन्।
इप्पानका सदस्य विक्रम विष्टका अनुसार हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईनको रुट चाँडै तय गर्ने विषयमा प्राधिकरण पछिल्लो समय केही सकारात्मक देखिएको छ। ‘एयर ट्राफिकको कारणले गर्दा यसअघि तय भएका पहिलो र दोस्रो रुटमा नमिल्ने देखियो। तेस्रो रुट तय गरेर जानेगरी नागरिक उड्डयन प्राधिकरणसँग केही दिनभित्रै टुंगाउने गरी तयारी भईरहेको छ,’ विष्टले नेपाल लाइभसँग भने।
प्रसारणलाईन निर्माणका लागि निर्धारण भएको पहिलो रुट तुलनात्मक रुपमा दोस्रो रुटभन्दा छोटो पर्न जाने प्राधिकरणको अध्ययनले देखाएको छ। तर हवाई ट्राफिकमा सोझै अवरोध पुग्ने देखिएपछि दोस्रो विकल्प अघि सारिएको थियो। दोस्रो रुटबाट प्रसारणलाईन लैजाँदा बजार र बस्ती भएकाले जग्गा अधिग्रहण र मुआब्जाको समस्यासमेत थपियो। त्यतिमात्र नभई दोस्रो रुटमा १२ देखि १५ वटासम्म टावरहरु बढी पर्ने देखिएपछि यो विकल्पबाट पनि प्राधिकरण पछि हटेको हो।
अहिले अघि सारिएका तीनवटा विकल्पहरुमा प्रसारणलाईनलाई भूमिगत बनाउने विकल्पलाई आर्थिक र प्राविधिक दुवै हिसाबले जटिल मानिएको छ। तर कोशी करिडोर आयोजना प्रमुख ढकाल पुरै प्रसारणलाईन भूमिगत गर्ने नभई हवाई रुटमा असर पुग्ने ठाउँमा मात्र भूमिगत गर्न सकिने बताउँछन। त्यस्तै हवाई रुट पर्ने स्थानमा ३० मीटरसम्म मात्रै उचाई भएका विद्युत पोल राखेर पनि प्रसारणलाईन बनाउन सकिने बारे अहिले छलफल भईसकेको छ।
शीतलपाटी सबस्टेसनका लागि विद्युत प्राधिकरणले जग्गा किनिसकेको छ। तर प्रसारणलाईन निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक अध्ययनका कामसमेत नटुंगिदा टेण्डरको काम पनि रोकिएको छ।


















