प्रधानमन्त्री केपी ओलीले भारतसामू घुडा टेकेको दाबी

171

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसामू घुडा टेकेको दाबी गरेका छन् । ओलीले जोसँग लडेँ भनेर राष्ट्रवादको कुरा गरे, उसैसँग आत्मसमर्पण गरेर प्रतिनिधिसभा विघटन गरेको उनले जनाए ।

 संसद विघटनको विरोधमा बुधबार पोखरामा आयोजित विरोध सभालाई सम्वोधन गर्दै भट्टराईले भूराजनीतिक संकट भएका बेला ओलीले संसद भंग गरेकाे जनाए ।

भारत र चीनको बीचमा अमेरिका आएको बेला ओलीले संसद भंग गरेको भन्दै उनले भने, ‘हिजो कोको आए, किन आए ?’  सुरुमा आफूलाई फस्ल्याङ फुस्लुङ पार्न आए होलान् भन्ने लागेको भएपनि अहिले त्यस्तो नदेखिएको उनले सुनाए । ‘पार्टीबाट अल्पमतमा परिसक्या छ, जुनसुकै बेला हटाउँछन् भन्ने बुझिसक्यो ।

समाजवादी पार्टी सानै भएपनि जिरे खुर्सानी हो, यसले छोड्दैन भन्ने पनि बुझे । शेरबहादुरजीलाई भागबण्डा दिएर कांग्रेसलाई लटरपटर पार्छु भनेको रामचन्द्र पौडेलहरुले विरोध गरे,’ भट्टराईले भने, ‘कतैबाट पनि साथ नपाउने भइसकेपछि ओली वाह्य शक्तिसँग पुगे ।’  उनले अघि भने, ‘जनताको आँखामा खुर्सानी हालेर सत्तामा गएका थिए, तिनैसँग आत्मसमर्पण गरे । यथार्थ त्यही हो ।’  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भोलिदेखि हुने भारत भ्रमण पनि चलखेलकै कारण हुनसक्ने उनको शंका छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद विघटन असंवैधानिक भएको, तर अदालतको भर पर्न सक्ने अवस्था नरहेको बताए । ‘अदालतबाट निर्णय आए त ठीकै हो, तर भर पर्ने अवस्था छैन,’ भट्टराईले भने ।  अब सभामुखले प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्री, राष्ट्रपतिको आदेशलाई असंवैधानिक भनेर खारेज गर्नुपर्ने उनले जनाए ।

  नेपाली कांग्रेसले खुट्टा कमाउन नहुने भन्दै भट्टराईले भने, ‘जसरी डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदै छ, त्यसरी नै यी अपराधीहरुलाई पनि महाअभियोग लगाउने दिशातिर हामी जान सक्छौं ।’  प्रतिनिधिसभा विघटनको विषय त्यत्तिकै भइगो नि त भनेर छोड्ने विषय नभएको भट्टराईले जनाए । हिटलरले जे गरे त्यही काम केपी ओलीले पनि गरेको भन्दै भट्टराईले सबै संस्थालाई भत्काउन खोजेको आरोप लगाए ।

‘केपी ओलीले पनि त्यही गर्छन्, उसले छोड्नेवाला छैन । हिटलरले अन्तिम बेलासम्म पनि आत्मसमर्पण गरेन, आफूले विष खायो, प्रेमिकालाई विष खुवायो र सबैलाई मारेर स्वाहा बनायो,’ भट्टराईले भने, ‘केपी ओली वाह, वाह भन्नुहुन्छ नि, ओलीको धूर्त प्रवृत्ति हो, हिटलर प्रवृत्ति हो । अन्तिममा सर्वनाश नभएसम्म बितण्डा गर्छ, गर्छ ।’  पञ्चायत र राजतन्त्र फ्याँके जसरी ओलीलाई सडकबाटै नफ्याँकेसम्म लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा नहुने भट्टराईले दाबी थियो ।  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओलीले संसद विघटन गरेर जनतामाथि खड्ग प्रहार गरेको जनाए ।

‘उहाँको नाम नै खड्ग ओली हो, जनतामाथि नै खड्ग प्रहार गर्नुभयो, पार्टीको रिस जनतामाथि पोख्नुभयो,’ राईले भने ।  राईले प्रचण्ड–माधव अहिले सडकमा आन्दोलन गर्दै हामी यता छौं भनिरहेको भन्दै प्रचण्डहरु ठाउँ नै त्यही भएको बताए । अल्पवुद्धि भएको नेताका रुपमा प्रचण्डलाई राईले चित्रित गरे ।

दश  वर्ष जनयुद्ध पनि बाबुरामकै अगुवाइमा भएको देखिएको उनको भनाइ थियो ।  अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले केपी ओलीले सनकको भरमा संविधानमा व्यवस्था नै नभएको कदम चालेर देश ध्यस्त पार्न खोजेको जनाए । धेरै तानाशाह फालिसकेका नेपाली जनतालाई ओलीजस्ता फुच्चे तानाशाह फाल्न कुनै समय नलाग्ने भण्डारीको भनाइ थियो ।  जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले ओलीले लोकतन्त्र र गणतन्त्र नै मास्न खाजेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here