काठमाण्डौ / डबल नेकपाको प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्तालमा ब्यापक धरपकड सुरु भएसँगै सो पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सातदोबाटो चोकमा निस्किएका छन्।
सातदोबाटो चोकमा निस्किएका प्रचण्डले आफ्ना कार्यकर्तासँग प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेका छन्। आन्दोलनकारीले असंवैधानिक कदम खारेज गर, राष्ट्रघाती सरकार मुर्दावादलगायतका नारा लगाइरहेका छन्।
प्रचण्ड सातदोबाटो चोकपछि कोटेश्वर चोक जाने कार्यतालिका रहेको छ। कोटेश्वरमा नेता/कार्यकर्तासँगै नाराबाजी गरेपछि उनी सिधै रत्नपार्क जानेछन्।
यसैबीच, उपत्यकाबाट नेकपाका केन्द्रीय नेताहरुसहित सयौं जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ। प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय सदस्यहरु अमृता थापा, चाबहिलबाट कृष्ण केसी र बागबजारबाट युवा नेता रमेश मल्ललाई पक्राउ गरेको छ।
आमहड्तालको नेतृत्व गर्दै उपत्यकाका विभिन्न चोकहरुबाट केन्द्रीय नेताको नेतृत्वमा प्रदर्शन भइरहेका छन्। प्रहरीले कडा सुरक्षा दिएको कारण पनि बन्दको प्रभाव भने उपत्यकामा सामान्य देखिएको छ।


















