क्यूआर कोडबाट एक महिनामा करिव दुुई अर्बको कारोबार

197

काठमाडौं। पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मा मार्फत हुने कारोबार रकम ह्वात्तै बढेको छ ।
चालू आर्थिक वर्षको माघ महिनामा मात्रै एक अर्ब ७१ करोड २० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

यस अवधिमा कारोबार भएको सङ्ख्या पाँच लाख ३५ हजार ७९० रहेको छ । चालू आर्थिक वर्षकै पुस महिनामा क्यूआर कोडमार्फत हुने कारोबार रकम एक अर्ब २४ करोड ५० लाख रुपियाँ रहेको थियो भने कारोबार सङ्ख्या पनि तीन लाख ७२ हजार १७६ रहेको थियो ।
यस्तै चालू आर्थिक वर्षको मङ्सिरमा क्यूआर कोडमार्फत हुने कारोबार रकम एक अर्ब २५ करोड ६० लाख रुपियाँ रहेको थियो भने कारोबार सङ्ख्या पनि तीन लाख ४३ हजार ५७४ रहेको छ ।
पुसमा नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी सुरुवात गर्नुभएको थियो । त्यसपछि त्यसको चर्चा हुन थालेको हो ।
राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई तीव्र रूपमा अगाडि बढाएसँगै सामान्य चिया पसलदेखि होटल, पसल, रेस्टुरेन्ट हुँदै ट्याम्पो, बस, ट्याक्सी चढ्दासमेत क्यूआर कोडमार्फ भुक्तानीको क्रम पनि सुरु भएको छ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेपछि नगद चाहिएन । एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रास पनि हटेको छ ।
सानिमा बैङ्कको सक्रियतामा राष्ट्र बैङ्कले नक्सालस्थित तरकारी बजारमा पनि क्यूआर कोड माध्यमबाट डिजिटल कारोबार गर्न पाइने गरी सुरुवात गरेपछि उत्साहित बन्नुभएका गभर्नर अधिकारीले अरू तरकारी बजारमा पनि विस्तार गर्न प्रोत्साहन गर्दै आउनुुभएको छ । आगामी एक वर्षमा देशका सबैजसो ठूला तरकारी बजारलाई ‘क्यासलेस’ बनाउने लक्ष्य लिएको राष्ट्र बैङ्कले जनाएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले सबै तरकारी बजारलाई क्यासलेस बनाउने राष्ट्र बैङ्कको योजना रहेको भन्दै त्यसका लागि सबै वाणिज्य बैङ्कले आफ्ना हेडक्वार्टर र शाखा भएका स्थान नजिक सञ्चालनमा रहेका तरकारी बजारमा क्यूआर कोड प्रणाली लागू गरे पुग्ने बताउँदै आउनुुभएको छ ।
गभर्नर अधिकारीका अनुसार भुक्तानी प्रक्रियामा डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा नेपाली पैसा विदेशिन्छ भने क्यूआर कोडमार्फत भुक्तानी गर्दा नेपालको पैसा बाहिरिँदैन । यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहनका साथै मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पु¥याउने उहाँको भनाइ छ ।
राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना (तिमिल्सिना)ले क्यूआर कोड नगदरहित, विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैङ्क लागेको बताउनुहुन्छ । यसलाई व्यापक बनाउने योजनाअनुसार काम पनि भइरहेको भन्दै उहाँ भन्नुहुन्छ, “क्यूआर कोडको छुट्टै मापदण्ड नै बनेको छ । यो प्रविधिमा आधारित भएकाले सबैले एकै पटक सिक्छन् र प्रयोग गरिहाल्छन् भन्ने पनि होइन । त्यसका लागि वित्तीय साक्षरताको अभियान पनि सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । ”
क्रेता बिक्रेता दुवै पक्षलाई यो विषयमा साक्षर बनाउँदै अगाडि बढ्न राष्ट्र बैङ्क सँगैसँगै अन्य बैङ्क र वित्तीय संस्थाको सामूहिक प्रयास जरुरी रहेको उहाँले बताउनुभयो ।

के हो क्यूआर कोड ?
‘क्यूआर कोड’ अर्थात् ‘क्विक रेस्पोन्स कोड’ । क्यूआर कोडमा सेतो पृष्ठभूमिमा स्क्वायर ग्रिडमा काला चार कुने स्क्वायर समावेश हुन्छ, जुन क्यामराजस्ता इमेजिङ उपकरणले पढ्न सक्छ ।
चीन, भारत, अमेरिका, युरोप तथा जापानलगायत देशमा अधिकांश कारोबार हुने गरेको यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैङ्कले उपलब्ध गराएको कोड क्लिक गर्नेबित्तिकै कारोबार हुन्छ । सेतो र कालो ‘पिक्स प्याटर्न’को सानो ‘क्रसवर्ड पजल’जस्तो देखिने क्यूआर कोडको माध्यमबाट छिटोछरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ । मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ ।
क्यूआर कोड भुक्तानीका लागि बैङ्क खातासँगै मोबाइल बैङ्किङ एप हुनुपर्छ । ई–सेवा, खल्ती, आईएमई पेलगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । मोबाइल बैङ्किङ एपभित्रै कुनै मर्चेन्ट जस्तै ः फोन पे, युनियन पे इत्यादिको फिचर लिङ्क भएको हुन्छ ।
कुनै पनि सामान वा सेवा खरिद गर्ने स्थानमा क्यूआर कोड स्क्यान गर्ने सानो बोर्डमा मोबाइल बैङ्किङ एप खोली क्यूआर कोड स्क्यान गरी तिर्नुपर्ने रकम भुक्तानी गर्न सकिन्छ ।
क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैङ्क खातामै जम्मा हुने हुँदा सुरक्षितसमेत हुन्छ ।

क्यूआर कोडको मापदण्ड तयार
पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्यूआर कोडबाट हुने भुक्तानीको सङ्ख्या र रकम दुवै बढ्न थालेपछि राष्ट्र बैङ्कले यसको मापदण्ड पनि तयार गरेको छ ।
राष्ट्र बैङ्कले क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण तथा नियमन गर्न ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको हो ।
मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम÷नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा÷गुनासो सम्बोधन र विवाद निरूपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्रान्डिङलगायतका विषय समेटिएको छ ।
राष्ट्र बैङ्कले क्यूआर कोडबारे प्रयोगकर्तालाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्नेबारे प्रावधान पनि समेटेको छ । मापदण्डमा क्यूआर कोडको अन्तरआबद्धता, व्यापक प्रयोग र विस्तारसँगै सुरक्षालाई ध्यान दिइएको छ ।
राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझावका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । रायसुुझावका लागि माघ ३० गतेसम्मको समय छुट्याएको राष्ट्र बैङ्कले प्राप्त सुुझावहरूलाई समेटेर मापदण्ड कार्यान्वयनमा ल्याएको हो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here