एजेन्सी । उत्तर कोरियाले छोटो दूरीको मिसाइल सफल प्रक्षेपण गरेको छ । अमेरिकामा जो बाइडेन सत्तामा आएयता पहिलोपटक उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । तर अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाले गरेको छोटो दूरीको मिसाइल प्रक्षेपणलाई उक्साहटका रुपमा नलिएको जनाएका छन् ।
सुरक्षा अधिकारीहरुले उत्तर कोरियाले हाल गरेको प्रक्षेपणलाई ‘सामान्य र नियमित’ भनेको बाइडेनले भने ।
उत्तर कोरियाले गएको सप्ताअन्तमा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रहार गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद प्रस्तावनाले सो प्रकारको मिसाइललाई प्रतिबन्धित गरेको छैन ।
दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेकामा उत्तर कोरियाले हालै अमेरिकाको आलोचना गरेको थियो । यस्तै बाइडेन प्रशासनले उत्तर कोरियासँग वार्ताका लागि प्रयास गरिरहेका बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो ।
उत्तर कोरियाले मिसाइल प्रक्षपण गरेको सम्बन्धी खबर अमेरिकी सञ्चारमाध्यमले पहिलोपटक प्रकाशित गरेका थिए । त्यसको पुष्टि पछि अमेरिकी अधिकारी र दक्षिण कोरियाको रक्षा मन्त्रालयले गरेको थियो ।


















