बन्द आकाश

236

-कृष्णसिंह पेला

धनगढी-२, कैलाली

कल्पनामा धीतमार वर्षा हुन्छ
आकाश खुल्छ
सफा गाढा, अंतरतारकीय नील विभावरीको
अनन्त खाडलमा हराउन लालायित दृष्टि
बन्धित छ भित्रभित्रै।
हावाविना बाँच्न सकिन्न भन्थे
हावाले नै अब त मरिएला जस्तो छ,
आकाश अनन्तसम्म खुल्छ भन्थे
विषाक्त रुपमा प्रतिबन्धित भएको छ
वर्षाको बूँद छैन टाढा टाढासम्म
यहाँ त आकाशमा अनन्तसम्म
धूलो छ, धुवाँ छ, वाफ छ
अनेक रंगका बादल छन्
र पनि आकाश बेरंग छ
प्रलय संविधानको कुनै धारा लागू गर्ने तरखरमा हुनाले
होला सायद यो गुरुगम्भीर मुद्रा
अस्तव्यस्त हरिताँचल हेरी हेरी
कार्बन मोनोक्साइड पान गरी गरी
क्यान्सरग्रस्त भैसकेछ समष्टिको फोक्सो
अपरिभाषित प्रतिशोधमा तप्त श्वास छोडदै छ
आकाश
आज क्रुद्ध छ, व्यग्र छ, घातक छ
हेर त्यो आकाश
खण्डित छ, विभक्त छ, अभिशप्त छ
मानिसको कार्बनिक कृत्यहरुको बोझ छ,
हलुका कसरी हुन सक्छ आकाश ?
हरिया छायाहरु लोप हुँदै गएपछि
स्फटिक नीलो कसरी रहन सक्छ आकाश ?
यहाँ त आकाश
रुग्ण छ, बोझिल छ, बन्द छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here