कोरिया जाने लागत शुल्क घट्यो साथै अब कामदार कोटा समेत बढाइने

241

काठमाडौं/ रोजगार अनुमति प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने युवाले बेहोर्दै आएको लागत शुल्क घटेको छ ।

सरकारले ईपीएसअन्तर्गत कोरिया जाने युवाले तिर्दै आएको हवाई भाडा घटाएपछि दक्षिण कोरिया जाने नेपाली युवाको लागत शुल्क घटेको हो । कोरिया जानका लागि यसअघि ५३० अमेरिकी डलर तिर्दै आएकोमा अब ४११ डलर तिर्नु पर्नेछ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरिया जाने कामदारको हवाई भाडा प्रतियात्रु १ सय १८ डलर अर्थात करिब १३ हजार रुपैयाका दरले घटेको जनाउँदै लागत शुल्क पनि घटेको जनाए ।

कोरिया जाने कामदारले राहदानी बनाउँदादेखि कोरिया प्रवेश गर्दासम्म विभिन्न ११ शीर्षकमा पटक–पटक गरेर ९ सय ३३ डलर सेवा शुल्क बुझाउँदै आएका छन् । शाखाका सूचना अधिकृत शोभाकर भण्डारीका अनुसार हवाई भाडा घटाइएपछि अब कामदारले ८ सय १३ डलरमात्र बुझाए पुग्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले खुल्ला प्रतिस्पर्धामार्फत कोरिया जाने हवाई टिकटको लागत घटाउन निर्देशन दिएपछि शाखाले विद्युतीय बोलपत्र आह्वान गरी हवाई टिकटको लागत घटाएको थियो । शुल्क घटेको आधारमा वायुसेवाले दिने सेवालाई गुणस्तरीय बनाउन कोरिया जाने कामदारलाई ट्रान्जिटमा ६ घन्टाभन्दा बढी राख्न नपाउनेगरी व्यवस्था गरिएको शाखाले जनाएको छ ।

२०१८ को भाषा परीक्षा (पीबीटी) बाट कोरिया जाने कामदार ७ हजार ९ सय ९८ जना अहिले कोरिया जाने प्रक्रियामा रहेका छन् । यो वर्षको जुन १४ सम्म मात्र ४ हजार १६५ युवा कोरिया प्रवेश गरिसकेका छन् ।

ईपीएसमार्फत कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये उत्पादन क्षेत्रमा नेपालीको कार्यक्षमता दोस्रो र कृषिमा पहिलो रहेका कारण कोरियाले नेपाललाई सबैभन्दा बढी रोजगारीको अवसर दिँदै आएको छ ।

सोमबार श्रममन्त्री बिष्टसँगको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क यूङ्सीकले नेपाली कामदार इमानदार र मेहनति भएकोले कामदारको संख्या थप गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here