–चन्द्रप्रकाश बानियाँ
अस्ति दुई गते, झमक्क साँझ परेपछि अकस्मात अनपेक्षित ठाउँबाट फोनकल आयो । न मेरा नाता गोता, न कुनै विधि व्यवहार, न कारोबार, न व्यक्तिगत साइनो सम्बन्ध ?! “अगुल्टो खाएको……बिजुली चम्कँदा झस्कन्छ” भनेजस्तो मनोविज्ञान रहने नै भो । किनकि फोनकल म्याग्दीस्थित गणका प्रमुख मेजर बुढाथोकीको थियो । नढाँटिकन भन्नुपर्दा नेपाली सेनाप्रति मेरो मनमा कुनै सदभाव बाँकी छैन । व्यक्तिगत साइनो सम्बन्धको कुरा अलग हो, संस्थागत रुपमा सेनासँग बाँकी जीवनमा कुनै व्यवहार गर्ने कुरामा मेरो रुचि छैन । मेरो अन्तहृदयमा एक खालको वितृष्णाभाव खाँदिएर रहेको छ भन्नु इमान्दारिता हुनेछ । उसै पनि नेपाली सेनाको भीमकाय आकार सेतो हात्तीजस्तो लाग्छ । मानिसहरुले प्राकृतिक आपतविपतमा गरिने उद्धार सहयोग र अप्ठेरो भुगोलमा गरिने विकास निर्माणलाई देखाएर सेनाको औचित्य पुष्टि गर्ने कोसिस गर्छन् । वास्तवमा त्यस्तो तर्क निकै हलुङ्गो लाग्छ । उद्धार सहयोगका लागि छुट्टै स्थायी संरचना बनाउन सकिन्छ र त्यस्तो संरचना हालको सैनिक संरचनाभन्दा निकै सस्तो र प्रभावकारी हुन सकछ । जहाँसम्म विकास निर्माणको कुरा हो त्यो त झन् सरासर लुट हो । सरकारी खर्चमा पालिएको सेनालाई विकास निर्माणको कार्य, त्यो पनि अमानतमा गराउनु विकास बजेटको घोर दुरुपयोग हो । विनाटेन्डर, विनाप्रतिश्पर्धा छुट्टिएको बजेट सग्लो सेनाको जिम्मा लगाउनु आफैमा एकतीहाई रकम सेनालाई बक्सिस दिनुजस्तै हो । त्यो पनि एक खालको आर्थिक अनियमितता हो ।
अर्थात मेरो ब्रह्मले सेनाको विराट उपस्थितिलाई फजुल खर्च मान्छ । किनकि नेपाल त्यस्तो भूराजनीतिक अवस्थितिमा छ कि दुई विशाल सैन्य शक्तिका अगाडि हाम्रो सेनाको हैसियत भुसुना समान छ । हाम्रा छिमेकीहरुको सामरिक शक्ति सामथ्र्यका अगाडि हाम्रो सेना “हात्तीका अगाडि भुसुना” भनेजस्तो हो । सीमा सुरक्षाका दृष्टिले नेपालको सैनिक शक्ति फजुलको खर्च मात्रै हो । बाहिरी शक्तिसँग दाँजिने क्षमता छैन, आन्तरिक विद्रोह समनका लागि विशाल आकारको आवश्यकता छँदै छैन । विनापरिश्रम विना कुनै तालिम अभ्यास डकारेर बसेको घरज्वाईंजस्तो सेनाको सामथ्र्यको पोल माओवादी विद्रोहको बेला अलिकता खुलेकै हो । अर्थात प्रयोगबाट असफल भैसकेको प्रहरी संगठनभन्दा कुनै उत्तम प्रविधि र क्षमता प्रदर्शन सेनाले गर्न सकेको होइन । थप २÷४ बर्ष अडिने हिम्मत माओवादीसँग भैदिएका भए नेपाली सेना पूरै पराजित हुने थियो भनेर समाजले अनुमान गरकै हो । त्यसैले नेपाली सेनाको उपयोग संयुक्त राष्ट्रसंघको शान्तिमिसनका लागि मात्र भएको छ भन्नु अत्युक्ति हुुदैन र त्यही प्रयोजनका लागि राज्यले त्यति धेरै व्ययभार बोक्नु घाटाको सौदा हो ।
कुरो अन्तै लबरबरियो । म्याग्दी ब्यारेकबाट फोन आएको थियो । ब्यारकेसँग मेरो कुनै साइनो सरोकार र व्यवहार थिएन । फोनकर्तासँग व्यवक्तिगत परिचय पनि थिएन । म आफ्नो घरधन्दामा व्यस्त थिएँ । त्यसैले कुन कामले फोन गरिएको हो भनेर सोध्ने औपचारिकताको समेत ख्याल नगरिरकन “म व्यस्त छु, भोली विहान कल गर्नुहोला” भनिदिएँ । उताबाट स्वीकृतिको “हवस्” सुनियो । फोन डिस्कनेक्ट भयो । गल्तीले फोन गरेको होला जस्तो लागेको थियो । ब्यारेकको मसँग कुनै काम हुनसक्छ भन्ने कल्पना पटक्कै गरिन । रहेछ केही भने पुनः सम्बन्ध राख्लान् होइन भने टर्ला भन्ने मनोभावमा म थिएँ । मेजरसँग फाल्तुको भलाकुसारी गर्ने उत्कण्ठा थिएन । कुरो गरिहालौं न त के रहेछ भन्ने जिज्ञासा मनमा जागृत नभएकै हो । फोन सम्बन्ध विच्छेद भएपछि मेरो स्मरणबाट त्यो कल पनि डिलिट भयो । हरायो ।
भोलिपल्ट विहानभर फोन आएन । राम्रै भोजस्तो लागेको थियो । ११ बजेतिर फेरि उही नम्बरबाट फोनकल आयो । अरुचिपूर्वक फोन उठाएँ । “म म्याग्दी ब्यारेकबाट मेजर बुढाथोकी ! च्रप्रकाश सर नै हुनहुन्छ नी ?” उनले हिजोजस्तै पुनः दोहो¥याएर सोधे । एक मनमा त “म उनको नाति हुँ, हजुरबा घरमा हुनुहुन्न” भनिदिउँ कि जस्तो पनि लागेको थियो । दोहो¥याएर फोन गर्नुको कुनै कारण होला भनेर अर्को मनले सम्झायो र गाह्रैंसित “म बोल्दैछु, केही काम थियो कि ?” भनेर सोध्नै प¥यो, सोधेँ । मेजरले अलिकता भूमिका सहित पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको चर्चा गरे र सेनाले त्यसलाई जीवित राख्ने महान उद्देश्यसहित युनीफिकेसन ट्रेल निर्माण गर्न लागेको कुरा सुनाए । पर्वतराज्य अन्तर्गत पर्ने म्याग्दी जिल्लासँग पनि त्यो अभियानसँग सम्बन्धित केही मेम्वाएर अर्थात गोर्खाली सेना छिरेको डोरेटो वा उक्त घटनासँग सम्बिन्धित कुनै भौतिक संरचना वा प्रयोग गरिएका सत्तल, पाटी, ठाँटी, दरबार, निर्माण गरिएको गोरेटो, घोरेटो वा तारघाटको जानकारी संकलन गर्न थालिएको रहेछ । म्याग्दीको बेनी चौबीसी राज्य पर्वतको राजधानी भएकोले गोर्खा–पर्वत युद्धसँग सम्बन्धित कुनै स्मरणयोग्य भग्नावशेष वा खण्डहर आदिको बारेमा जानकारी चाहिएको रहेछ ।
स्वभावतः मेरो जानकारीमा रहेको ऐतिहासिक तथ्य टिपाएँ । उनलाई चाहिएजतिको जानकारी मिल्यो होला, मेजर निकै खुसी भए । सम्पर्कमा रहिरहनेछु भन्दै आफ्नो सेलफोन नम्बर सेभ गर्न अुनरोध गरे । कतै कुनै कन्प्mयुजन रह्यो भने पुनः सम्पर्क गर्नेछु, झिजो नमान्नु होला भन्न पनि भ्याए । मेजरलाई दामोदर पाण्डे र जगजित पाण्डेद्वयको नेतृत्वमा रहेको गोर्खाली सेनाले कुन तिकडदम लगाएर कुन दिशाबाट कसरी पर्वतको राजधानीमाथि आक्रमण गरेका थिए, पर्वत विजयका निमित्त कस्तो भेदनीति अपनाएका थिए, ढोलठानास्थित पर्वतको राजदरबारमा एक महिनासम्म थलामारेर बसेका पाण्डेहरुले कुन कुन चर्तिकला कसरी देखाएका थिए भन्ने कुरासमेत सविस्तार जानकारी गराएँ । मेजर त खुसी भए तर मेरो मनले भने खाटाबसेको समाजको घाउ सेनाले किन कोट्याउने नादानि गर्दैछ भनेर आश्चर्य मान्यो ।
धर्मनिरपेक्ष भनिएको मुलुकको सेनाले शिवरात्रीलाई किन जन्मदिवसको रुपमा मनाउँछ ? हरेक ब्यारेक हाताभित्र देवीको मन्दिर किन स्थापना गर्छ ? सैन्य मुख्यालयमा पृथ्वीनारायण शाहको विशाल प्रतिमा किन स्थापित गर्छ ? त्यतिले पनि नपुगेर “युनिफिकेसन ट्रेल”को नाममा पूर्व पश्चिमका दर्जनौैं राज्य रजौटामाथि विजय प्राप्तिको अभियानमा गोर्खालीहरु हिँड्दा प्रयोग गरेको गोरेटचा, डोरेटो पहिल्याएर टे«किङ् रुटको विकास गर्ने नादानी किन गरिरहेको छ ? मेरो मनभित्र यी यस्ता बग्रेल्ती प्रश्नहरु उठ्न थालेका छन् ।
हो, पृथ्वी नारायण शाहले सुरु गरेको विजय अभियानले बहादुर शाहको दोश्रो नायवी कालसम्ममा पूर्व तिष्टादेखि पश्चिम काँगडासम्म देशको सीमारेखा तन्काएको हो । शाहवंशले पहल नलिएका भए आजको नेपाल रहन्थ्यो वा रहँदैनथ्यो ? रहेका भए कस्तो र कत्रो आकारको रहन्थ्यो भनेर अनुमान गर्न सकिदैन । एउटा अलग देश कायम भयो राम्रो भयो । नरहेका भए पनि के फरक पथ्र्यो र ? भूमि प्रकृतिको देन हो । राज्यसीमा मानिसले कोरेका हुन् । जुन भूमिमा जन्म्यो त्यही आफ्नो देश । नेपाल नामको नक्सा नकोरिएका भए पनि देशको नाम जेसुकै रहेको होस, आफ्नो भन्न मिल्ने भूमि हुन्थ्यो । गौरव गर्नलाई एउटा मातृभूमि हुन्थ्यो, देश हुन्थ्यो । तत्कालीन इतिहास हेर्दा यो हिमवत्खण्डमा भूटान, सिक्कम, बलुचिस्तान, कास्मीरजस्तो अर्को एउटा थप देश अवश्य रहन्थ्यो । त्यसको आकार अहिलेको भन्दा ठूलो हुन पनि सक्थ्यो, सानो हुन पािन सक्थ्यो । नेपाल पूर्खाको पौरखबाट होइन, अंग्रेजको कूटनीतिक निगाहबाट जन्मेको देश हो ।
नेपाल बनाएको शाहहरुले नै हो भन्न कञ्जुस्याई गर्नु आवश्यक छैन । तर अहिलेको सीमारेखाभित्र खुम्चिनुपर्ने बनाएको पनि उनीहरुले नै हो । शाहहरुले देश बनाउनुभन्दा धेरै बर्ष अगाडि नेपालभन्दा तीनगुना ठूलो खस साम्राज्य यही क्षेत्रमा रहेकै हो । त्यो जोगिएन भन्ने अर्को कुरा हो । त्यो साम्राज्य अरुले होइन, आफ्नै नादानीले टुक्रालाम्टा परेको थियो । अर्को एउटा स्मरण गर्नुपर्ने कुरा के पनि हो भने संसारका अधिकांश मुलुकहरु राजाहरुले नै बनाएका हुन् । खासगरेर दोश्रो विश्युद्ध पछि बनेका मुलुकहरुमा राजाको भूमिका देखिदैन । त्यसपूर्व पनि अकेरिका र युरोपका केही मुलुकहरुको निर्माणमा राजसंस्थाको हात थिएन । नत्र भने अलग र स्वतन्त्र मुलुकको अवधारणाको विकास सामन्तवादी सत्ताकै देन हो । मुलुक निर्माता भनेर कुनै राजालाई मान्नु आवश्यक हुदैन । किनकि कुनै पनि राजाको देश निर्माणमा न स्वतन्त्र देश निर्माण गर्ने सदाशय रहन्थ्यो न जनताको लागि राज्य निर्माण गर्ने उद्देश्य रहन्थ्यो । राजाहरुको राज्य निर्माण नितान्त निजी स्वार्थका लागि हुन्थ्यो । त्यसैले पृथ्वीनारायण र उनका सन्ततिले नेपाल र नेपालीका लािग होइन, आफू र आफ्ना सन्ततिका लागि विजय अभियान चलाएका हुन् ।
नेपाल बहुजातीय मात्रै होइन, बहुराष्ट्रिय मुलुक पनि हो । सबै जात जातिले शाहवंशको भूमि एकीकरण अभियानलाई गौरवको दृष्टिले लिँदैनन् । मान्दैनन् । शाहवंशका नाममा थुक्नेहरुको संख्या पनि यो मुलुकमा कम छैन । पृथ्वीनारायण शाहलाई एकीकरणकर्ता होइन, लुटाहा शासक मान्नेहरु पनि यो देशका नागरिक छन् । साँचो कुरा गर्ने हो भने पृथ्वीनारायण आफैले बाहुन, खस, मगर र गुरुङ आफ्नो सेनामा रहेको कुरा लेखेका छन् । यो देश पृथ्वीनारायणसँग सहकार्य गर्ने ती चार जातिबाहेकका सयभन्दा बढी जातजातिको बासस्थान हो । ती चार जातको मिचाईमा आफ्नो जाति परेको बुझाई समाजको ठूलो हिस्सामा छ । हिन्दूत्वको फर्जी आँकडा तयार गरेर समाजको आँखामा छा हाल्दै आइएको भए पनि अहिन्दूहरुको बहुसंख्या नेपालमा बसोबास गर्छ । न धर्म, न जाति, न समुदाय वा सम्प्रदाय ? कुनै एउटा तर्कले पनि सबैलाई पृथ्वीनारायणप्रति नतमस्तक बनाउन सक्दैन । नेपाली सेनाले किन आफूलाई एउटा शासक जातिसँग जोड्न चाहन्छ ? किन एउटा धर्मविशेषसँग टाँस्सिने नादानी गर्छ ? किन सबैको साझा बनेर सबैको मन जित्ने चेष्टा गर्दैन ? जनधारणा साप्ताहिकबाट


















