कोभिड–१९ संक्रमणको जोखिम बढ्यो सावधानी अपनाऔंः प्रधानमन्त्री ओली

80
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन् ।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने जनाए । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने जनाए । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित् हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि जनाए । कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको जनाए । उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गाल गुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने हो केही प्रसेन्ट बाँकी रहन्छ त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नी । त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको जनाए ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताए । यस्तै उनले कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले भने, ‘ब्युरोक्रयाटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्स । यसलाई पनि सरलीकृत गर्ने । यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनर्विचार गर्न जरुरी छ । व्यक्तिलाई मात्रै दोष लगाएर हुने स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे ।  अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठनै नसक्ने गरी भने असर नपरेको जनाए ।

उनले भने, ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का प¥यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन । धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरु क्षेत्रहरु पनि धेरै नोक्सान परेका छन् । त्यसकारण क्षति नभएको होइन तर फेरीपनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ । एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here