शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले सरकारको धेरै ठूलो धनराशि भौतिक निर्माणकै क्षेत्रमा हुने अवस्था रहेको बताए । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समेत विद्यालयका भौतिक संरचना निर्माण भएको तथा स्थानीय तहमा पठाइएको बजेटबाट समेत भौतिक संरचनाको काम हुने गरेको उल्लेख गर्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ठूलो हिस्सा पनि निर्माणकै क्षेत्रमा हुने अवस्था रहेको बताए ।
विद्यालयमा नयाँ कक्षाकोठा थप गर्नुपर्ने अवस्था रहेको तथा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका कतिपय भौतिक संरचना अझै बनाउनुपर्ने भएका कारण पनि कक्षाकोठा अझै अपुग भएको उनको भनाई छ । सरकारी अधिकारीहरूका अनुसार अझै केही वर्ष सरकारको लगानी भौतिक संरचनाकै क्षेत्रमा हुनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयबाट आह्वान गरिएको प्रस्तावमा पनि सबैभन्दा बढी माग भौतिक संरचनाकै लागि गरिएको थियो । गोरखापत्र दैनिकबाट


















