काठमाडौं । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्।
ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन। तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन्। त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन्। ठाकुर र ठाकुरनिकट नेताहरूले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन्। ‘हाम्रो लाइन प्रष्ट छ, जसले माग पूरा गर्छ, त्यसलाई हामीले समर्थन गर्छौ,’ ठाकुरनिकट जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले भने, ‘ओली सरकारले हाम्रो माग पूरा गर्छ भने ओली सरकारलाई हामी समर्थन गर्छौ।’


















