काठमाडौं । गत चैत ९ गतेदेखि थालिएको राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गैडा गणना सकिएकाले आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको । नतिजा आज दिउँससो पत्रकार सम्मेलनमार्फत हुने जनाईएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए ।
पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८ र १९९५ मा ४६६ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।


















