वैशाखभित्रै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु

239

काठमाडाैं/माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी दिए।

पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए। ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ।’

बाँकी जेठ, असार, साउन र भदौमा क्रमशः उत्पादन थप्दै लगिने उनले बताए। यसरी आगामी भदौभित्र माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत् उत्पादन भइसक्ने पनि सचिव घिमिरेले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन शुरु गर्ने रहे पनि वैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको जनाए।

वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि एक दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिनपछि विद्युत उत्पादन शुरु हुँदा वैशाख ३१ गते सम्भव हुने जनाए।

‘तर अहिलेको तालिका अनुसार जेठ २ गते भनेर गरेका छौं। त्यस हिसाबले पहिलो युनिट आइसकेपछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्तसम्म बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था छ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक दुई दिनअघि मात्रै आयोजनास्थल अनुगमनमा पुगेको उनले बताए। शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि जनाए।

साउन मसान्तसम्म आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here