— रिदेन महर्जन
अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा जात्रा पर्व मनाउने क्रम चलेको छ । उता सडक विस्तार अभियानले जनतालाई घरबारविहीन बनाइरहेको छ । घरबार भन्दा जात्रा पर्वलाई जनताले महत्व दिइरहेका छन् । हुनत जात्रा पर्वहरु देशको पहिचान, अस्तित्व, अधिकार तथा भूमिसित गहिरो सम्बन्ध रहेको छ । जवसम्म भूमि रहन्छ तव सम्म भाषा, कला, संस्कृति अस्तित्व तथा पूर्खाले चलाइरहेका जात्रा पात्रा, रितिरिवाज संस्कार र परम्पराहरु कालान्तरसम्म जिवित राख्न सकिन्छ । त्यही भएर भूमि जोगाउनतिर ध्यान दिनु पर्दछ ।
नेवार समूदायमा जात्रा मनाउन स्थापना भएको खलः, गूठी, विभिन्न संघ संस्थाबीच गम्भीर रुपमा बहस हुनु पर्ने देखिन्छ । जसमा स्थानीय सरकारले तथा काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, कीर्तिपुर, भक्तपुर महानगरपालिकालगायत नयाँ बनेका नगरपालिकाहरु यस विषयमा गम्भीर रुपमा बहसमा उत्रनु पर्नेमा त्यसतर्पm कसैको ध्यान पुगेको छैन । आखिर किन यसबारे छलफल भएन ? यस विषयमा स्थानीय जनप्रतिनिधिहरु तथा गैर कानुनीतवरले सडक विस्तार गरिदा घरबार बिहीन हुन पुगेका पिडित तथा विस्थापित भएकाहरु गम्भीर हुन जरुरी छ ।
बालाजु बाइपासका स्थानीय जनता जंगलको सरकारी जग्गा भनेर सत्ताको दुरुपयोग गरी निजी स्वामित्व बनाउन केन्द्रित हुनेलाई किन कानुनको कठघरामा पु¥याईदैन । ती क्षेत्रमा घरबारबिहीनहरुलाई स्थापित गर्ने प्रयास किन गरिदैन ? सडक विस्तारको विरुद्धमा लडिएको मुद्दा जितेको अवस्थामा सरकार पेलेरै जाने रणनीति बनाएको छ । घर जग्गा गुमाउनेहरुको गुनासो सुनावाई नहुने निश्चित छ । तैपनि जनता आफ्नो घरबासको निम्ति आन्दोलिन हुनुको विकल्प छैन । सरकारी जग्गाका नाममा रहेका नीजि स्वामित्वमा नरहेका जग्गाहरुलाई ठूला—ठूला व्यापारिक घरानाहरुको प्रयोगको निम्ति ठेक्कामा दिने गरिरहेको छ । जनताका जग्गा अधिग्रहण गर्ने सरकारले सरकारी जग्गामा जनतालाई स्थापित गर्न प्राथमिकता दिनुपर्ने होइन् ?
अभैm पनि जात्रा पर्व हो, अस्तित्व हो र संस्कृति हो भन्ने नेवार समूदायहरु लागेर मात्रै समग्र शोषित पीडित जनताका लागि न्याय हुनेछैन् । त्यही भएर एकचोटी आफ्नो अस्तित्व, र संस्कृतिका लागि जनता उठ्नु आवश्यक हुन्छ । बर्षभरि नै मनाउने होइन जात्रा पात्रा ! सडक विस्तार कार्यले पिडित भएकाहरुको घाउमा मलहम लगाउने कार्यमा अग्रसर हुने बेला आएको छ । किसान बर्गको जनजिविकाकासित सम्बन्ध रहेको जमिनलाई खोसेर जनतालाई भूमिहीन बनाउने हो भने यसको प्रभाव दीर्घकालीन रुपमा नकारात्मक हुने निश्चित छ ।
राज्यले गुण्डागर्दी गर्ने होइन । जनतालाई अमानवीय र असभ्य तरिका अपनाएर घरबार बिहीन बनाउने होइन । राज्य भनेको सरकार हो । सरकार जनताको अभिभावक हो । जनताको अभिभावकले सभ्यता बचाउने हो । सभ्यता मास्ने होइन्, धर्म बचाउने हो, मास्ने होइन । राष्ट्रको पहिचान जोगाउने हरेक नागरिक, जनप्रतिनिधीको सम्बन्धित सरोकार वालाको दायित्व के हो ? राज्यले निर्देश गर्नु पर्दछ । जनताको भावना विपरित सरकार चल्नु हुँदैन । त्यसैले अन्यायमा परेका समुदायप्रति ध्यान दिनु, उनीहरुको घाउमा मलहम लगाउनु सरकारको धर्म हो । पशुपतिमा सुनको गजुर सजाएर धर्म हुन्छ भन्ने ठान्नु सरकारको अधर्मी सोच हो । देशका जनताले खान पाउँदैनन् भने मन्दिरको देवताालाई सुनको जलप लगाएर सजाउनुको के अर्थ ?
चेतनाको अभावले नै समाजमा अन्धविश्वासको जग बसेको हुन्छ । अन्धविश्वास हटाउन सरकारले दमनको सहारा लिने होइन । दमनबाट अन्धविश्वासलाई हटाउन खोजियो भने समाजमा विद्रोह हुनसक्छ । सांस्कृतिक र धार्मिक अन्धविश्वासले सृजना गरेको विद्रोहले मन्दिरमा सजाइएका सुनका जलपहरु पनि सखाप पारिन सक्छन् । संसारका कतिपय देशहरुमा भएका घटनाहरुबाट पनि शिक्षा लिन सक्नु पर्दछ । आस्थामा चोट पारियो भने विद्रोह डर लाग्दो हुन्छ र अनियन्त्रित पनि हुन्छ ।


















