मकवानपुर/कोरोना संक्रमण पुनः बढ्न थालेपछि जोखिम बढ्न नदिन बागमती प्रदेश राजधानी मकवानपुरको हेटौंडामा आउँदो आइतबारदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको छ।
आज शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले दोस्रो चरणको कोरोना सुरु भएपछि देशमै पहिलो पटक मकवानपुरमा सवारीमा जोर बिजोर प्रणाली अपनाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘हेटौंडामा संक्रमित दर बढ्दै गइरहेकाले सवारी साधनको चाप कम गराउने प्रभावकारी उपाय जोर–बिजोर ठानेर बैठकबाट निर्णय गरी अघि बढेका हौं।’
आइतबारबाट हेटौंडामा निजी सवारी साधन, अटो, इरिक्सा, मयुरी,म्याजिक र टेम्पोलाई जोर बिजोरमा चल्नेछन्। वैशाख महिनाभरि पार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज पार्क बन्द गर्न पनि सम्बन्धित पक्षलाई केन्द्रले आग्रह गरेको छ।
यस्तै, अनिवार्य रुपमा मास्क लगाउनका लागि पनि बैठकले आग्रह गरेको छ। सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई सङ्क्रमण रोग ऐन २०३० बमोजिम कारबाहीका लागि प्रशासनसक्षम सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ।
कोरोना संक्रमणबाट बँच्न लागू गरिएका मापदण्ड तथा नियम पालना भए/नभएबारे कडा निगरानी गर्ने पनि निर्णय गरेको छ। यसका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) संयोजकत्वमा अनुगमन समिति गठन गरी आजैबाट कार्य सुभारम्भ गरिएको जनाइएको छ।


















