काठमाडौं/मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। बैठकले कोरोनाविरुद्ध सिसिएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्ने जनाइएको छ। यसैबीच आजै काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको संयुक्त बैठक बस्दैछ। काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो। काठमाडौंको सिडिओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ।
सक्रिय संक्रमितको संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका तीनै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ९०० भन्दा धेरै छ। यो संख्या सिसिएमसीले तोकेको मापदण्डभन्दा धेरै हो। सिसिएमसीले तराईमा ५०० र पहाडमा २०० जना सक्रिय संक्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।
कोभिड १९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको सिसिएमसीको बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।


















