प्रचण्डद्वारा जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह

105

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले साेमवार  साँझ एक विज्ञप्तिमार्फत भन्नुभएको छ, “स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनेको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशङ्का बढाएको छ ।”

उहाँले महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनतामा पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रलाई समेत अपिल गर्नुभएको छ ।

अध्यक्ष दाहालले विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराएको सन्दर्भमा तीनवटै तहका सरकार तथा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले स्वास्थ्य स्वमय्सेविका रुपमा महामारी विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका चिकित्सक, स्वास्थयकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै उहाँले स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन सबैलाई विशेष अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here