भारतमा लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो

117

कैलाली । रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ । नाकामा परीक्षण गराउन अनिवार्य नहुनु र गरेकाहरु पनि क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर जाँदा सुदूरपश्चिमका गाउँ बस्ती अहिले कोरोना जोखिममा छन् ।

सुदूरपश्चिममा धनगढी उपमहानगरपालिका र महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकाले मात्रै क्वारेन्टाइन निर्माण गरेर भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको छ । तर, अन्य स्थानीय तहले भने क्वारेन्टाइनको व्यवस्थापन नगर्दा बाहिरबाट गाउँ भित्रिएकाहरु सिधै घरमै जान थालेका हुन् । जसले गर्दा कोरोनाको त्रास दिनानुदिन बढ्दै जान थालेको छ ।

दिनानुदिन कोरोनाको संक्रमण बढिरहेका बेला सम्बन्धित स्थानीय सरकारले कुनै पहल नगरेको प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थी बताउँछन् । ‘स्थानीय पालिकाहरुले कन्ट्रयाक ट्रेसिङ गर्नुका साथै विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने हो,’ उनले भने,‘त्यसो नगरिएका कारण सुदूरपश्चिममा कोरोनाको अवस्था भयावह हुन सक्ने आँकलन गरिएको छ ।’ स्थानीय सरकारले समयमै कोरोना रोकथामका लागि सचेतनाका उपाय अपनाउनुका साथै गर्नुपर्ने कामहरु नगरेका कारण समस्या भयावह हुन सक्ने उनले बताए । नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here