नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा निधन

268

काठमाडौं– राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा निधन भएको छ।

वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भई उपचारका लागि उनलाई सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए।

शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो।

नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहेका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए।

अविवाहित जीवन बिताएका पौडेल छ जना दाजुभाइमध्ये जेठा हुन्। स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सदाचार एवं इमान्दार नेताको छवि बनाएका पौडेलले लामो समय संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाको सांसद बनेका हुन्। सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here