सहरबजारभन्दा ग्रामीण क्षेत्रमा बढी काेराेना सङ्क्रमणकाे जाेखिम

58

डोटी ।  जिल्लामा पछिल्लो केही सातायतादेखि कोभिड-१९ संक्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख सहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । भारतबाट रोजगारीगरी घर फर्किएका अधिकांश नागरिक सिधैँ गाउँघरमा जाने तथा त्यहाँ उनीहरूले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित दर बढ्दै गएको पाइएको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ भने कम्तीमा १०० भन्दा बढी सङ्क्रमित थपिएका छन् । सङ्क्रमित हुने प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको बताइएको छ ।

भारतबाट आएका नागरिक राख्ने क्वारेन्टिन तथा कोरोना सङ्क्रमित भएकाहरू राख्ने ठाउँ अभावमा समस्या हुँदै आएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । उनले भने, ‘कोरोना सङ्क्रमित हुने दर ह्वात्तै बढ्यो, उपचार गर्ने ठाउँ अभाव छ, अब कहाँ राखेर उपचार गर्ने समस्या हुने स्थिति आउँदैछ ।’

यहाँका प्रमुख बजार दिपायल, सिलगढी, पिपल्ला तथा राजपुर क्षेत्रमा खासै कोरोना सङ्क्रमित नदेखिए पनि बिरामी परी गाउँबाट उपचार गराउन अस्पताल आएका नागरिकलाई जाँच गर्दा कोरोना सङ्क्रमण देखिने गरेको उनको भनाइ छ । यहाँका गाउँघरमा गहुँबाली भित्र्याउने चटारो भइरहेका बेला एकाएक कोरोना सङ्क्रमण देखिएपछि किसान पनि चिन्तित बनेका छन् ।

गाउँघरमा रहेका नागरिक अन्नबाली भित्र्याउन नपाउँदै कोरोनाले ज्यान लैजान्छ कि भन्ने चिन्तामा परेको जोरायल गाउँपालिका–५ का गङ्गाराम चोखालले बताए । स्वास्थ्य जाँच नगरी भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिक अहिले गाउँमा गहुँबाली भित्र्याउन तथा धानको बेर्ना राख्नमा व्यस्त हुने तथा गाउँका पसलमा जम्मा हुन थालको स्थानीयवासी बताउँछन् । उनीहरूका अनुसार गाउँघरमा अहिले कोरोना त्रास फैलिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले कोरोनाबाट बच्ने कुनै उपायसमेत प्रयोग गर्ने गरेका छैनन् । समयमै पाकेको गहुँ नकाटिए पछि के खाने भन्ने चिन्ताले आफू हिजोआज गहुँ काट्नमै व्यस्त हुने गरेको केआइसिंह गाउँपालिका–५ का किसान दिनेशबहादुर विकले बताए ।

कोरोनाको चिन्ता मनमा भए पनि उक्त जोखिमलाई कुनै वास्ता नगरी किसान दिनहुँ गहुँ काट्न थालेका छन् । कोरोनाको सम्भावित जोखिम हुन नदिन सरकारले विभिन्न जिल्लामा लकडाउन गरे पनि वर्षभरिको उत्पादन गरेको गहुँबाली भित्र्याउन जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ ।

किसानलाई कोरोना सङ्क्रमण हुने चिन्तासँगै बेलाबेलामा मौसम परिवर्तन हुने हुँदा कतै खेतबारीमा पाकेको गहुँ भित्र्याउन पाइँदैन कि भन्ने अर्को चिन्ताले ग्रसित बनाएको गहुँ काट्नमा व्यस्त दिपायल सिलगढी नगरपालिका–४ की खिमादेवी विष्टले जानकारी दिइन् । उनले भनिन्, ‘कोरोना त्रास त छ तैपनि वर्षभरिको खाने खेती हो, समयमै नभित्र्याए पछि के खाने, आफू मरे पनि बचेकाले त खालान् भनेर गहुँ भित्र्याउन थालेका छौँ ।’ यहाँका गाउँघरमा गहुँ बाली प्रायः सबै ठाउँमा पाकिसकेकाले कोरोनाको कुनै प्रवाह नगरी किसान गहुँ भित्र्याउन व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here