आर्थिक बिभेद रहेसम्म अरु बिभेद अन्त्यका कुरा गर्नु बेईमानी हो

28

  -प्रीति रमण

नेपालको पहिचान धेरै बिषयबाट हुने गरेको छ । सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि बिशेष रुपमा संसारभर चर्चित छन् । यीसँगै हिमाल,पहाड,तराई र मधेसका भूभागमा छरिएर रहेका बहुजातीय,बहुभाषिक,बहु संस्कृतिका मानिसहरूको बसोबास रहेको सानो,सुन्दर र शान्त, जलस्रोतको अपार धनी देश भनेर पनि नेपाल चिनिन्छ । यसरी चिनिने हाम्रो देश नेपाल राजनीतिक,सामाजिक ,धार्मिक र सांस्कृतिकरुपले समृद्ध हुनुपर्नेमा भ्रष्टाचार र मानव अधिकार उल्लंघन गर्ने सरकार भएको देश भनेर पनि चिनिने अवस्थामा पुगेको छ । कसैको  उपनिवेश नरहेपनि केन्द्रिकृत एकलजातीय राज्यसत्ताले एक भाषा,एक धर्म र संस्कृतिलाई राज्य संचालनको आधार बनाएर अरुमाथि शोषण,दमन र उत्पीडनको साथसाथै जातीय,बर्गिय र सांस्कृतिक बिभेद भयो भनेर नयाँ संबिधान बनाईएको हो । यसका साथै राजनीतिक,सामाजिक, सांस्कृतिक र आर्थिकरुपले हाम्रो देश पछि परेको कुरा त सर्वविदितै छ।

नेपाली जनताको अविरल संघर्ष,त्याग र बलिदानद्वारा तानाशाह-अधिनायकवादी राजतन्त्र,निरंकुश जहाँनियाँ राणा शासन, निर्दलीय पन्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र स्थापना गर्ने काममा जनताको सहभागिता भएकै हो । तरपनि बहुदलीय ब्यवस्थाले समेत  नेपाली जनता र नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकेन । त्यही कारणले राजसंस्थाको पनि अन्त्य गरेर गणतंत्रको अभ्यास सुरु भएको हो । तर गणतंत्रले पनि सफलता पाउने वा देश र जनताका आवश्यकतालाई परिपूर्ति गर्ने आशा अब जनताले गर्न छोडेका छन् ।

बर्गीय सोचमा आधारित माओवादी जनयुद्ध र सधैं बिभेदमा पारिएका समुदायबाट भए गरेका मधेस बिद्रोह, आदिवासी जनजाती र मुस्लिमको संघर्षहरुको ताकतमा संविधानसभाका निर्वाचनहरु पनि भए । संबिधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको शुभारम्भ गरेको हो । तर एउटा राजा हटाएर सयौं राजाहरु ब्यवस्था गरिए झैं भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको १५ बर्ष भइसक्दा पनि नेपाली जनताले चाहे अनुसारको परिवर्तनको अनुभुति गर्न नपाउनुमा नेताहरु नै जिम्मेवार छन् भन्न सकिन्छ । परिवर्तनबिरोधि  बर्ग र भ्रष्ट व्यक्तिहरुको हातमा सत्ता सुम्पिएको अवस्थामा हामी पुगेका छौं ।

देशको वास्तविक समस्या के हो ? जातीय, क्षेत्रीय, धार्मिक,साँस्कृतिक,शैक्षिक, लैंगिक बिभेद देशको समस्या हो कि बर्गिय समाजको संरचना नै वास्तविक समस्या हो ? बहुसंख्यक जनताका समस्याहरु संसारका सबै देशहरुमा छन् । सबै देशहरुमा आर्थिक रुपले बिपन्न जनताका समस्याहरु समान खालका नै छन् । चाहे जुनसुकै धर्ममा आस्था राख्ने शासकहरु भएका मुलुकहरु होउन् त्यहाँका जनता गरीबीको दुस्चक्रमा परेकै छन् । तर बिश्वका धनी देशहरुले आफ्नै देशका गरीब जनतालाई अभावमै पिल्सिन बाध्य बनाईरहेका छन् एकातिर भने अर्कातिर गरीब देशका सरकारहरुलाई ठूला ठूला प्याकेजमा आर्थिक सहयोग गरिरहेका पाईन्छन् । किन ? किन उनीहरु आफ्नै देशका गरीब जनताका समस्यातर्फ ध्यान दिन चाहँदैनन् ?

आज नेपाली राजनीतिमा धार्मिक,जातीय र लैंगिक बिभेदलाई मात्र  समस्याका रपमा उठाउने गरिएको देखिन्छ ? धनी देशहरुले पनि नेपालमा यिनै जातिय र धार्मिक बिषयलाई समस्याका रुपमा उठाईरहेका छन् । यहाँका जनताको साझा समस्या गरीबी नै हो । गरीबीको  अन्त्य कसरी हुने हो ? जसम्म गरीबीलाई साझा समस्याको रूपमा पहिचान गरेर उचित शल्यक्रिया गरिदैन तबसम्म समस्या समाधान हुने छैन ।

हरेक समस्याको जड भनेकै गरीबी हो । जुनसुकै जात होस् वा जनसुकै धर्म, लिंग वा जुनसुकै क्षेत्र नै किन नहोस् ? आर्थिक रुपले सम्पन्न छ भने सबै खालका अवशरहरु – धार्मिक अधिकार, जातीय अधिकार, लैंगिक अधिकार , शैक्षिक अधिकार सबै उस्लाई प्राप्त भैरहेकै हुन्छ । त्यसैले देशको समस्या हैन जनताको समस्या गरीबी नै हो ।

राज्यसत्तामा पकड राख्ने जुनसुकै जातको होस् उस्लाई जातिय समस्या हुदैन । सत्तामा पुग्ने जनसुकै धर्मको ब्यक्ति होस् उस्लाई धर्मको समस्या हुँदैन ।तर सत्तामा गरीब जनता पुग्न सक्दैन , सत्तामा नपुगेसम्म गरीब जनतालाई शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, धर्मको अधिकार र जातको अधिकार हुँदैन । त्यसैले आर्थिक बिभेदको अन्त्यका लागि के गर्नु पर्ने हो ? राजनीतिक दलहरुले जनताका लागि केही सोच्नै पर्दछ ।जनतालाई समृद्ध नबनाएसम्म हाम्रो देशले बिश्वका धनी देशहरुसँग जतिसुकै लम्पसार परेर भिक्षाटन गरेपनि गरीबी समाप्त हुने छैन ।-जनधारणा साप्ताहिकबा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here