सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको बोक्चेगौडा भीर छिचोलियाे

282

हुम्ला । कोरोना सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ ।

निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो । गत वर्षको बन्दाबन्दीमा पनि केही समय रोकिएर निरन्तर काम भएकै कारण कोरोनाको दोस्रो लहरको कठिन समयमा पनि चट्टानी भागमा सफलता पाइएको छ ।

निर्माण कम्पनी पीएस क्याराभ्यान कङ्ग्री जेभीका प्रतिनिधि मङ्गल लामाले खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडा भीरको चट्टान फुटाउने र जमिनको भाग सम्याउने काम पूरा भएको जानकारी दिए । उनका अनुसार यहाँबाट निर्माण उपकरण ल्याउने–लाने काम हुन थालेको छ ।

खार्पुनाथ गाउँपालिका–१ का बासिन्दा टक्कबहादुर शाहीले असजिलो भागमा पनि सडक निर्माण भएपछि कर्णाली कोरिडोर चाँडै जोडिने विश्वास व्यक्त गरे। हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख विसुनदास लामाले ३७५ मिटर लम्बाइ रहेको सो भीरलाई फुटाउन नेपाली सेनाको रोहबरमा निर्माण कम्पनीले १९ पटक विस्फोट गराएको बताए।

निर्माण कार्य भइरहेका बेला विस्फोटक पदार्थ सकिएका कारण भीर छिचोल्न केही समय बढी लागेको थियो । विस्फोटक पदार्थ प्रयोग गरिसकेपछि कर्णाली कोरिडोरको निर्माण कार्यले गति लिएको छ ।

कोरिडोरको खार्पुदेखि सुनाखाडा खण्डमा १९ करोड ४५ लाख रुपियाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । आयोजनाकै समन्वयमा उक्त निर्माण कम्पनीले साढे दुई सय मिटर लामो भिगौढा भीरमा पनि सडक बनाएको थियो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here