अक्सिजन सिलिन्डरको कालोबजारी गरेको अभियोगमा तीन पक्राउ

91

ललितपुर । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका ४२ वर्षीय नबराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ रोगको कारण बिमारी भई अस्पतालमा उपचाररत रहेको विरामीहरूको लागि अक्सिजन सिलिन्डर अभाव भैरहेको सन्दर्भमा ललितपुर जिल्लामा समेत अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा सिलिन्डर बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले बजारमा अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । साथै उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here