-निमकान्त पाण्डे
अघिल्लो साता मैले जनताको बहुदलीय जनबाद(जबज)लाई संसदबादको निरन्तरता भनेर संसदबादको बिकृतिलाई जबजको आदर्श मानिएको तर्क प्रस्तुत गरेर आफ्नो धारणा पस्किएको थिएँ । केही जबजबादीहरुले मेरो धारणामा असहमति जाहेर गरेर फोन गरे ! तर धेरैले भने सहमति जनाएर प्रतिक्रिया ब्यक्त गरेका छन् ।
मदन भण्डारीले जुनबेला जबजको लाईन भन्दै संसदबादलाई नयाँ आवरणमा प्रस्तुत गरेर पाचौं महाधिबेशनबाट पारित गराउनु भएको थियो , त्यतिबेला जबजलाई संसदबाद भन्दा फरक खालको राजनीतिक कार्यदिशाका रुपमा प्रचार गरिएको थियो । तर यस पंक्तिकारले त्यतिबेलै एमाले पार्टी संसदबादमा पतन भएको निष्कर्षसहित आफ्नो धारणा प्रस्तुत गरेको हो । तर मदन भण्डारीले संसदबादको बिकल्पमा नयाँ राजनीतिक कार्यदिशाका रुपमा जबजलाई प्रस्तुत गर्नु भएको थियो । संसदबादी धारभन्दा बाहिर रहेका राजनीतिक शक्ति र ब्यक्तिहरुलाई समेट्न सकिने सोचका साथ यो बिचार मदनले अघि सार्नु भएको थियो भन्ने कुरा केही दृष्टान्तका आधारमा भन्न सकिन्छ ।
मदनले संसदबादको बिकल्पमै जबज अघि सार्नु भएको हो भन्ने प्रमाणका रुपमा कांग्रेसले गरेको निजीकरणका बिरुद्धमा उहाँले जोडदार रुपमा बिरोध जनाउनु भएको थियो भने संसदबादी सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमंत्री गिरिजाप्रसाद कोईरालाले भारतसित गर्नु भएको टनकपुर सम्झौताका बिरुद्ध संसद बैठकमा उहाँको प्रस्तुतिले नै स्पष्ट गर्दछ । टनकपुर सम्झौतामा गम्भिर राष्ट्रघात भएको दाबी गर्दै लगातार ८ घन्टासम्म मदनले संसद बैठकको रोष्ट्रम घेराउ गर्नु भएको थियो । मदनकै अडानले टनकपुर सम्झौतालाई सच्याउन सफलता प्राप्त भएको थियो । तर मदनको देशभक्तिलाई मदनको हत्यापछिका जबजबादीहरुले निरन्तरता दिन सकेनन् । महाकाली सन्धि, अरुण तेस्रो, माथिल्लो कर्णाली लगायतका नेपालका बिकासका पूर्वाधारका रुपमा रहेका महत्वपूर्ण जलसम्पदाहरु भारतलाई सुम्पिने काममा जबजलाई संसदबादको पुच्छर बनाईयो ।
मदन देशभक्त र दूरद्रष्टा पनि हुनुहुन्थ्यो भन्ने कुरा टनकपुरको सवालमा उहाँले नेतृत्व गर्नु भएको आन्दोलनले स्पष्ट गर्छ । परन्तु मदनले जबजलाई संसदबाद भन्दा फरक राजनीतिक कार्यदिशाका रुपमा प्रयोग गरेर देखाउन खोज्दा खोज्दै उहँको रहश्यमय हत्या गरेर उहाँको बिचारलाई नै समाप्त पार्ने काम भएको देखिन्छ । मदनको निधनपछि जबजलाई संसदबाद भन्दा फरक बिचारका रुपमा नभएर समान संसदबादको निरन्तरताका रुपमा प्रयोग गर्ने काम भयो ।
मदनको हत्यापछि जबज र संसदबादमा कुनै भिन्नता छैन भन्ने कुरालाई पुष्टि गर्ने गरी एमाले पार्टीका गतिबिधिहरु भैरहेका छन् । संसदबादका सबैखाले बिकृतिहरुको निरन्तरता जबजले अंगिकार गरेको छ । त्यसैले अब जबजलाई संसदबादको निरन्तरता भन्दा फरक अर्थमा बुझ्नु गलत बुझाई हुने निश्चित छ ।
मदन भण्डारीले जबजमा मार्क्सबादीहरुबीचको प्रतिस्पर्धाको परिकल्पना गर्नु भएको थियो । तर अहिलेका जबजबादीहरुले मार्क्सबादीहरुलाई समाप्त पार्न साम्राज्यबादीहरुको सहयोग लिने प्रयास गरिरहेका छन् र साम्राज्यबादीहरुका सामु लम्पसार पर्ने काम गरिरहेका छन् । त्यत्तिमात्र हैन, केपीले जबजबादी माधवलाई सिध्याउन चाहिरहेका छन् र माधवले जबजबादी केपीलाई पनि निमिट्यान्न पार्न प्रयत्न गरिरहेका छन् । आफैबीचमा शत्रुतापूर्ण लडाई गरेर जबज बाहिरका संसदबादीहरुसँग साँठगाँठ गर्ने काममा जबजबादले निर्देशित गरिरहन्छ भने त्यो जबजबाद मार्क्सबाद होईन भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले पनि जबज भनेको संसदबादको नयाँ आवरणमा आएको कुकुरको मासु बेच्नेहरुको समूह नै हो भन्ने कुरा पछिल्ला गतिबिधिहरुबाट झनै स्पष्ट भैरहेको छ,आगे जबजबादीहरुलाई चेतना भया !


















