काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आचारसंहिता विपरित राष्ट्रियसभा उप-निर्वाचनका आफ्ना उम्मेदवारलाई भोट मागेपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीको वक्तव्य आएको केही समयपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्तिहरुले आचारसंहिता विपरित वक्तब्य दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरित वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’,आयोगले विज्ञप्तिमा भनेको छ, ‘एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिता विपरितका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन।’
आयोगले आचारसंहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारवाही गर्न सक्ने भन्दै यस्ता कार्य गर्नेको अभिलेख राख्ने समेत जनाएको छ।
प्रधानमन्त्री ओलीले बुधबार आफ्नै पार्टीका मतदातालाई अपिल जारी गर्दै रामबहादुर थापा बादल आधिकारिक उम्मेदवार भएकाले पार्टी ह्वीप अनुसारकै मतदान गर्न निर्देशन दिएका थिए।
उप-निर्वाचनका लागि अहिले मौन अवधि चलिरहेको छ।



















