युवा संगठनहरुद्वारा संवैधानिक संकट निम्त्याउने ओलीको कदमको घोर भर्त्सना

228

काठमाडौं । विभिन्न राजनीतिक दलसम्बद्ध युवा संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई सिक्किमिकरणको दिशामा लैजान उद्दत रहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष), जनता समाजवादी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टी सम्बद्ध युवा संगठनहरुले प्रधधानमन्त्री ओली नेपाललाई संवैधानिक संकटको व्यवस्था सृर्जना गर्दै सिक्किमिकरणको दिशामा लान उद्दत रहेको आरोप लगाएका हुन्।

कांग्रेस निकट तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएलं)का अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), एमालेका माधव पक्ष निकट युवा संघका अध्यक्ष नरेश शाही, जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टी निकट विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीमाथि यस्तो आरोप लगाएका हुन्।

६ संगठनका अध्यक्षहरुले संसद विघटनमार्फत संवैधानिक संकट निम्त्याउने ओलीको कदमको घोर भर्त्सना समेत गरेका छन्। उनीहरुले ‘संविधानको हत्या गर्ने’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानुनी कठघरमा उभ्याउन पनि राजनीतिक दलहरुसमक्ष माग गरेका छन्।

‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौं,’ ६ संगठनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ।

युवा संगठनहरुले ओलीले चाल्ने हरेक ‘गैरसंवैधानिक र राष्ट्रघाती कदम’को डटेर सामना गर्न आम नेपाली युवाहरुलाई आह्वान समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here