भोलिदेखि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ ऋणपत्र बिक्री खुला

82

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले भोलि (मंगलबार)बाट ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको छ।

बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी चार अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ।

बैंकले प्रतिकित्ता एक हजार रूपैयाँ अंकित मूल्यको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरिने जानकारी दिएको छ। कूल रकम चार अर्ब रूपैयाँमध्ये १६ लाखकित्ता डिबेन्चर अर्थात् एक अर्ब ६० करोड ऋणपुँजी रकम (पाँच प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल दुई अर्ब ४० करोड रूपैयाँ ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

उक्त ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ।

लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here