भयानक त्रासदीको बीचमा पनि सेल्फी !

173

काठमाडौं। अफ्रिकी देश कंगोमा ज्वालामुखी विष्फोटपछि ठूलो विनाश भएको छ । आइतबार राती गोमा सहरको माउन्ट यिरागोंगोमा ज्वालामुखी विष्फोट भएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ । ५ सयभन्दा धेरै घर पूर्ण रुपमा जलेर खरानी भएका छन् । यद्यपि यो भयानक त्रासदीको बीचमा पनि मानिसहरु सेल्फी खिचिरहेका देखिए । यो घटनाका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

सार्वजनिक भएका फोटोमा ज्वालामुखीको दन्किरहेको लाभाले जलेर खरानी भइरहेका घरहरुको अगाडि मानिसहरु सेल्फी खिचिरहेका देखिएका छन् । फोटोमा जलिरहेका घरलाई पृष्ठभूमि बनाएर मानिसहरुले मुस्कुराउँदै सेल्फी खिचिरहेका देख्न सकिन्छ । स्थानीयका अनुसार प्रशासनले यस मामिलामा सूचना दिएको थिएन । ज्वालामुखी विष्फोटपछि यहाँका कैयौं जनता आत्तिएर यताउता दौडिइरहेका थिए । स्थिति शान्त हुँदासम्म कैयौं मानिसहरुको घर उजाडिइसकेको थियो र उनीहरु फुटपाथ वा सडकमा सुत्न बाध्य भएका थिए ।

राष्ट्रसंघीय बालबालिका एजेन्सीका अनुसार यो घटनापछि गोमा सहरका करिब ५ हजार जनता रुवान्डाको सीमातर्फ भाग्न बाध्य भएका छन् । २५ हजार अन्य जनता सेक सहरतर्फ गएका छन् । यो दुर्घटनामा १७० बालबालिका बेपत्ता छन् । यसअघि यो ज्वालामुखी २००२ मा विष्फोट भएको थियो । त्यतिबेला १ सयभन्दा धेरैको मृत्यु भएको थियो ।

स्थानीय जनताले डेलीमेलसँग कुरा गर्दै बताएअनुसार बिहान उठ्दा त्यहाँ पूरै क्षेत्रमा सल्फरको गन्ध थियो । यसका अलावा पहाडबाट आगो बर्सिरहेको थियो । कंगो इन्स्टिच्युट फर कन्जरभेसन नेचरले ट्वीट गर्दै यो क्षेत्रमा रहेका सबै पर्यटक सुरक्षित भएको बताएको छ । प्रशासनले पनि मानिसहरुलाई सुरक्षित स्थानमा लैजान कोसिस गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here