–चन्द्रप्रकाश बानियाँ
गणेश गुरुङ्को मङ्गोल अर्गनाइजेसनले सबै जनजातिहरुलाई मूलवासी र बाँकी अरुलाई आप्रवाशी मान्छ । मङ्गोल अर्गनाइजेसनले पछिल्लो कालखण्डमा त नेपालका बाहुन क्षत्रीबाहेक अरु सबैलाई मङ्गोल मान्न थालेको छ । एमएनओले बनाएको त्यही परिभाषालाई पछ्याउँदै नेपालका केही ब्राह्मण विद्वानहरुले पनि आफ्ना पुर्खाहरु बाह््रौं शताब्दीताका मुस्लिम अत्याचारबाट बच्न र धर्म संस्कृति जोगाउन नेपाल उक्लिएका हुन् भन्न थालेका छन् । अर्थात एमएनओको मान्यतालाई उनीहरुले स्वीकार गर्न थालेका छन् ।
वास्तवमा अघिल्लो पछिल्लोे बसोबासको आधारमा मूलवासी र आप्रवाशी भनेर गरिने परिभाषा गलत हो । भ्रमपूर्ण पनि छ । नृतत्वशास्त्रीय अध्ययनले मानव उत्पत्तिको मूल थलो अफ्रिकी महादेशलाई मान्दछ । यतिखेर संसारभर अस्तित्वमा रहेको मानव प्रजाति पूर्वी अफ्रिकामा उत्पत्ति भै संसारभर छरिएको हो र त्यो (वर्तमान) मानववंश “होमोसेपियन्स” हो भनेर मानिएको छ । होमोसेपियन्सभन्दा अगाडि पनि अन्य मानव प्रजातिहरु अस्तित्वमा थिए तर तिनको जीवित अस्तित्व अब बाँकी छैन । आजको मानिसको डिएनएमा मात्र ती प्रजातिहरुको अवशेष जीवित छ । अर्थात होमोसेपियन्सले अन्य प्रजातिहरुको आमसंहार ग¥यो र महिलाहरु मात्र स्याहा¥यो अथवा अन्य प्राकृतिक विपत्ति वा रोगव्याधीबाट ती प्रजातिहरुको समूल विनाश भयो । होमोसेपियन्सको शरीरमा आजसम्म फेलापर्ने वंशतत्व होमोसेपियन्स र अन्य जातिबिचको संसर्गबाट बच्चाबच्चीमा सरेको हो भन्नुपर्ने हुन्छ । अथवा अफ्रिकाबाट बाहिरिनुपूर्व नै अन्य मानव प्रजातिहरुसँग होमोसेपियन्सको लसपसबाट सन्तान उत्पत्ति भैसकेको थियो भनेर मान्नुपर्ने हुन्छ ।
जहाँसम्म नेपाल र नेपालीको कुरा हो वर्तमान नेपालको सीमारेखा १८१६ को सुगौली सन्धीबाट निर्धारण भएको हो । वर्तमान नेपाल जन्मेको चानचुन पौने तीन सय वर्ष मात्रै भाये । नेपाल एकीकरण र सीमाको अन्तिम निर्धारण भएपछिका आगन्तुकलाई आप्रवाशी भन्न मिल्छ । त्यसपूर्व नेपालमा बस्दै आएको जो सुकै हुन तिनलाई आप्रवाशी भन्न मिल्दैन । ब्राह्मण विद्वानहरुले स्वीकारेजस्तो उनीहरुको पुर्खा बाह्रँौ शताब्दीमै नेपाल छिरेका हुन् भने पनि तिनलाई आप्रवाशी भन्न मिल्दैन । किनकि उनीहरुको नेपाल प्रवेश देश निर्माण हुनुपूर्वको हो । जहाँसम्म मूलवाशी भन्ने परिभाषा वा मान्यता हो त्यो पनि भ्रमपूर्ण छ । किनकि वर्तमान मानव प्रजाति अर्थात होमोसेपियन्सको साझा उत्पत्तिस्थल पूर्वी अफ्रिका हो । त्यहीबाट निस्केर पृथ्वीभर विस्तारित भएको हो ।
नेपालको सन्दर्भमा मात्रै होइन, अफ्रिकाबाहेक पाँचै महामदेशका मानिसहरु सबै आप्रवाशी हुन् । अन्य महादेशमा उत्पत्ति भएको मानव प्रजातिको अस्तित्व बाँकी छैन । नेपालमा कुनै मानव प्रजातिको उत्पत्तिको प्रमाण आजसम्म भेटिएको छैन । नेपालमा रहेका सबै जाति जनजातिहरु बाहिरबाटै आएका हुन् । बाहिरबाट आएको कारणले आप्रवाशी मान्ने हो भने सबै नेपालीहरु आप्रवाशी नै हुन् । कोही ढिलो आयो होला कोही चाँडो । कोही उत्तरबाट आयो होला, कोही दक्षिणबाट । पूर्व वा पश्चिमबाट नेपालभित्र छिर्नेहरु पनि होलान् । अफ्रिका बाहेक अन्य मुलुक, महाद्विप वा भूखण्डमा जस्तै नेपालका सबै जाति जनजातिहरु बाहिरबाटै आएका हुन । त्यस दृष्टिले सबै आप्रवाशी हुन् । नेपाल आप्रवाशीहरुको मुलुक हो ।
जहाँसम्म धर्म संस्कृति जोगाउन जनै बोकेर ब्राह्मण पुर्खाहरु नेपाल छिरे भन्ने मान्यता हो त्यसमा पनि सत्यता छैन । अहिले पनि संसारको सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरु भारतमै छन् । हिन्दू धर्म संस्कृतिको उद्गम र विकास भारतमै भएको हो । वेद, पुराण, सूत्र, स्मृति, दर्शन, निबन्ध,, ब्राह्मण, संहिता, आरण्यकहरु सबको रचना भारतमै भएको हो । देवभाषा भनेर प्रचारित गरिएको संस्कृत भाषाको विकास पनि भारतमै भएको हो । बुद्ध धर्मको विनासको जगमा हिन्दूधर्मको उन्नयन पनि भारतमै भएको हो । नागरी लिपीको विकास र परिमार्जन पनि भारतमै भएको हो । हिन्दू धर्मका ठूलठूला तीर्थ, धाम, र देवस्थल मन्दिरहरु पनि भारतमै छन् । मुस्लिम वा अंग्रेजले हिन्दू धर्म मास्ने प्रयत्न गरेका वा उनीहरुको शासन हिन्दू धर्मका लागि खतरा सावित भैदिएिका भए भारतबाट हिन्दू धर्म लोप भैसकेको हुनुपथ्र्यो । त्यसो भएन । त्यसैले धर्म जोगाउन पहाड उक्ले भन्ने मान्यता स्वतः खण्डित हुन्छ ।
हिन्दू धर्म संस्कृति जोगाउन कुश, वेद र जनै लिएर ब्राह्मणहरु नेपाल छिरेका हुन भन्ने कुरा तर्कसंगत लाग्दैन । ऐतिहासिक प्रमाण लाग्ने मौर्य शासनकाल अर्थात इशापूर्व तेश्रो शताब्दी यताको कालखण्डमा भारतभूमि मूलतः बुद्ध, मुस्लिम र इसाई शासकहरुबाट शासित भएको देखिन्छ । बाह्रौं तेह्रौं शताब्दी यता भारत स्वतन्त्र हुनुपूर्वसम्म मुस्लिम र अंग्रेजहरुको शासन रहेको थियो । मुस्लिम वा अंगेजहरुको हिन्दूधर्म मास्ने नीति थियो भन्न मिल्दैन । मुस्लिमहरु आफैले संस्कृत पढ्थे । भारतको सबभन्दा जेठो इतिहास फारसी विद्वान अलवेरुनीले लेखिदिएका थिए । उर्दुमा एउटा उपनिषदको रचना समेत भएको छ ।
भारतका कुना कुनामा छरिएर रहेका संस्कृत भाषाका लिखतहरु जम्मा गर्ने, संरक्षण गरिदिने र प्रकाशन गर्ने काम अँग्रेजहरुले गरिदिएका हुन् । कासीस्थित हिन्दू संस्कृत विश्वविद्यालयको स्थापना पनि अंग्रेजले गरिदिएका हुन् । अँग्रेज आउनुपूर्व संस्कृत भाषाको अध्ययन अध्यापन गर्ने ठूलो एउटै महाविद्यालय भारतमा स्थापित थिएन । मुस्लिम र अँग्रेज शासकहरुले आ आफ्ना धर्म प्रचार गरे होलान् तर हिन्दू धर्म संस्कृति मास्ने कोसिस गरेको देखिदैन । इतिहासले त्यो कुरा प्रमाणित गर्दैन । तथ्यले त्यस्तो संकथनलाई पुष्टि गर्दैन । हो, मुस्लिम शासनकालमा अन्य धर्मालम्बीहरुलाई “जजिया” नामको धार्मिक कर लगाइएको थियो तर त्यो सांकेतिक मात्र थियो । त्यसबाट ठूलो शोषण भएको थियो वा बाँच्नका लागि धर्मत्याग गर्नुपर्ने अवस्था थियो भन्न मिल्दैन ।
सत्य कुरा कति मात्रै हो भने भारतका स्थानीय राजा रजौटाहरुको राज्य हडप भएपछि ज्यान, परिवार र धन जोगाउन केही रजपुतहरु नेपाल छिरेका हुन् । उनीहरुको साथमा केही ब्राह्मण, पण्डित, पुरेत र भान्सेहरु आए होलान् । ती धर्म संस्कृतिको संरक्षणका लागि होइन, जीविकाका लागि आएका थिए । स्वभावतः धर्म संस्कृतिको मामलामा उदार अर्थात कट्टरता नरहेको खस जाति उनीहरुका लागि दुहुनो गाई बनेको कुरा सत्य हो । पुरेत्याईं पेशाको विस्तारको सन्दर्भमा ब्राह्मण पण्डितहरुले खसहरुको हिन्दुकरण अभियान चलाए । खस साम्राज्य स्थापना हुनुपूर्वदेखि नै नेपालमा खस जातिको संक्रमण भैसकेको थियो र भारतबाट उक्लेका पण्डितहरु हरेक गाउँ बस्तीहरुमा पुगिसकेका थिए । अर्थात खसहरुको हिन्दुकरणको प्रारम्भ नागराजले खस साम्राज्यको जग राख्नुपूर्व नै भएको थियो । हरेक सामन्त (भुरे राजा) को सल्लाहकार र पुरेतको रुपमा ब्राह्मणहरुले स्थान बनाइसकेका थिए भन्ने कुरा नागराजको दरबारमा रहेको “सामु पण्डितको उपस्थितिले पुष्टि गर्छ ।
हुन सक्छ, ब्राह्मणहरुको वंश भारतीय नै होला । ती सबै आर्यवंशी होलान् । नेपालमा हिन्दू धर्म स्थापनामा उनीहरुको महत्वपूर्ण भूमिका होला । आफ्नै स्वार्थका लागि खसहरुको हिन्दूकरणको अभियान उनीहरुले नै चलाए होलान् तर आर्य र खस एउटै प्रजातिका मानिस थिएनन् । ती फरक नश्ल र वंशका मानिसहरु हुन् । खस र वाहुन एउटै जाति हो भन्ने कुरा विलकुल गलत हो । ब्राह्मणपुत्र खत्रीहरुसँग खस समाजले विहेबारी सनातन चलाएको हुनाले दुबैथरी एउटै हुन् कि भन्ने मान्यता समाजमा स्थापित हुन गएको हो । झण्डै हजार वर्षको सरसंगत र रक्त सम्बन्धका कारणले खस र ब्राह्मणपुत्रहरुको वंश, नश्ल र आकृति (शारीरिक बनोट) उस्तै उस्तै देखिन गएको मात्र हो । खसहरुको आगमन मार्ग फरक थियो, भाषा संस्कृति फरक थियो र लिपी पनि फरक थियो । धर्म र परम्पराहरु पनि फरक थिए । सुंस्कृत भनेर हिन्दू धर्म संस्कृति अवलम्वन गर्नाले खस समाजकोे आफ्नो धर्म, संस्कृति, भाषा र परम्पराहरु मासिए, हराए ।
खसहरुको पछिल्लो आगमन मार्ग भारतको कुमाउ, गढवाल, कास्मिर भए पनि तिब्बतको ङारी प्रदेशको गुङ्गे पुराङ हुँदै नेपाल छिरेको लिखित प्रमाण तिब्बती वंशावलीहरुमा समेत भेटिन्छ । स्वयम नागराज ङारी प्रदेशबाट सिंजा झरेका थिए । भारतको वर्तमान उत्तराखण्डबाट गङ्गाको मैदान हुँदै पूर्वतिर लाग्ने खसहरु बंगालसम्म पुगेका थ्एि । तिब्बत हुँदै सिक्किम छिरेका खसहरु वर्मासम्म पुगेका देखिन्छन् । सिंजा र डोटीतिरबाट छिरेका खसहरु काठमाडौै उपत्यकासम्म आइपुगेको देखिन्छ । भारतबाट माथि उक्लेको जाति खस होइन । खसहरुको नेपाल आगमन १२ रौं शताब्दीको होइन । त्यसभन्दा सयौं वर्ष अगाडिदेखि नै नेपालको पश्चिम र भारतको उत्तर पश्चिमको इलाकामा खसहरु विस्तारित भैसकेका थिए । उनीहरुले ससाना राज्य रजौटाहरु स्थापना गरेका पनि थिए । बाहौं शताब्दीको प्रारम्भमै सिंजा झरेका नागराजले विभिन्न टुक्रामा विभाजित खस भूगोलको एकीकरण गरेका मात्र हुन् भन्ने कुरा श्रीपाली वंशावलीमा परेको “बडा महाराज नागराजले बडुवालराज, रावलराजा, थापाराजा, खड्काराजा, विष्टराजा, जाडेराजाकन मारिकन खारीकोटको राज्य बाढायाको हो । बडामहाराजका पालामा दशैदिशा जिती सिंजानगरीमा सुनको दरबार लगायाको हो” भनेर लेखिएबाट पुष्टि हुन्छ ।
नागराजको आगमनपूर्व भारतको उत्तराखण्ड, कुमाउ, गढवाल, कास्मिर र नेपालको कर्णाली क्षेत्र अर्थात महाकाली नदीको वारीपारी खसहरुको बस्ती घनिभूत रुपमा स्थापित भैसकेको थियो । वैदिक आर्यहरुको भारत आगमनपूर्व खसहरु हिमालको काखैकाख नेपाल भित्रिसकेका थिए । भारतबाट उक्लेका जाति खस होइन । -जनधारणा साप्ताहिक


















