काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध रहेको जनाएका छन् ।
नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पार्न समेत आग्रह गरेका छन् ।
‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी वाड मै आक्रमण गर्नु जघन्य अपराध हो । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ । दोषी माथि कार्वाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस । सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो । म स्वास्थ्यकर्मीको साथमा छु ।’ सामाजिक संजालमा उनले भनेका छन् ।
बिहीबार बाँकेको भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आइसीयु कक्षमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेपछि नेता शर्माले स्वास्थ्यकर्मीमाथि हातपात गर्नु जघन्य अपराध रहेको भन्दै आपत्ति जनाएका हुन् ।
भेरी अस्पताल प्रशासनका अनुसार आक्रमणमा परि डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

















