काठमाडौं । काठमाडौं महानगरपालिका-११ माईतीघर मण्डलामा ना.६ ख ३३०२ नम्बरको ट्रकले प्रदेश ०२-०२६-११८१ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं काँडाघारी बस्ने दोलखा तामाकोसी गाउँपालिका घर भएका २९ वर्षीय अर्बत खड्काको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रामेछाप गोकुल गंगा गाउँपालिका-४ घर भई हाल काँडाघारी पेप्सीकोला बस्ने २३ वर्षीय कृष्ण खड्काको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१२ खनार सोमबारे चोकमा को.१० च ५५७३ नम्बरको पिकप भ्यानको ठक्करबाट पैदलयात्री ईटहरी उपमहानगरपालिका-११ बस्ने ५५ वर्षीया गंगा ढकालको शुक्रबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको बिराटनगर कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले
खोजी गरिरहेको छ ।
सप्तरीकाे अग्निसाईर कृष्णसावरण गाउँपालिका-२ सितापुरमा स.११ प २५८५ नम्बर र स.२ प ५२४५ नम्बरका दुई मोटरसाइकललाई ना.७ ख ५४९५ नम्बरको ट्याङ्करले शनिबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा परी २ जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार रुपनी गाउँपालिका-३ बस्ने ३२ वर्षीया सुमन देवी प्रमाणीकी छोरी ८ वर्षीया यशोदा प्रमाणी र स.२ प ५२४५ नम्बरको मोटरसाइकलमा सवार ३६ वर्षीया नभिया प्रबिनकी छोरी ७ वर्षीया सुमैया प्रबिन रहेका छन् ।
दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ४ जनालाई उपचारको लागि धेर्मेश्वर अस्पताल ठेलिया पठाइएको छ । हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















