पेइचिङ । आगामी बिहीबार अर्थात जलाई १ मा १०० औँ स्थापना दिवस मनाउने तयारीमा लागेको चीनको कम्युनिस्ट पार्टीलाई संसारभरबाट १३ सत्न्दा बढी शुभकामना सन्देश प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका अधिकारीले विभिन्न विदेशी राजनीतिक दल र सरकारका प्रमुखहरूले १०० औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश आउने क्रम जारी रहेको जनाए ।
शुभकामना सन्देशमा राजनीतिक दल र सरकारका नेताहरूले चिकपाबाट आफ्ना अपेक्षा, चीनमा सुशासनको अनुभव आदानप्रदान हुने आशा र जलवायु परिवर्तन एवम् असन्तुलित विकासजस्ता आजको विश्वका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्ने विश्वास व्यक्त गरिएको जनाइएको छ ।
शुभकामना सन्देश पठाउनेहरूमा १५० जना राज्य तथा सरकार प्रमुख एवम् दुई सय जना राजनीतिक दलका नेताहरू भएको चिकपा केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्व येचाओले सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
केही देश र राजनीतिक पार्टीका नेताहरूले चिकपा केन्द्रीय समितिका महासचिव समेत रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङलाई लेखेको पत्रमार्फत् आफ्ना भावना व्यक्त गरेको क्वले जानकारी दिए । केही देशका राजनीतिक दलहरूले भने चीन र चिकपाबारे आपसी परामर्श गरेर शुभकामना सन्देशमा संयुक्त रूपमा हस्ताक्षर गरी पठाएको उनले जनाए ।
“यी सबै शुभकामना सन्देशले ती राजनीतिक दलहरूको चीनप्रतिको मैत्रीभाव प्रस्ट भएको छ”, उनले जनाए ।
केही राजनीतिक दलले शतवार्षिकीको अवसरमा चिकपालाई शुभकामना सन्देश पठाउनुका साथै पार्टीको संयुक्त सैद्धान्तिक छलफल समेत आयोजना गरेको विदेश विभागका अधिकारीले भने । “सैद्धान्तिक छलफलबाट निकालिएका निष्कर्ष ‘हार्दिकताका साथ’ हामीलाई पठाउनुभएको छ”, क्वले भने ।
चिकपाको शतवार्षिकी विशेष महत्वपूर्ण भएको चर्चा गर्दै उनले शतवार्षिकी चिकपा र चिनियाँको लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायको लागि पनि चासोको विषय भएको बताए । विभिन्न देश र राजनीतिक दलले चिकपालाई पठाएका शुभकामना सन्देशमार्फत् संसारले चिकपालाई नजिकबाट नियालिरहेको कुरा प्रष्ट भएको उनले जनाए।
विदेशी नेताहरूको आँखामा चिकपाका पाँच विशेषता–सैद्धान्तिक खोज, जनताकेन्द्रित, समय सान्दर्भिक बन्न आत्मसमीक्षा, सशक्त नेतृत्व र विश्वव्यापी दृष्टिकोण भएको क्वले भने ।
आफ्ना शुभकामना पत्रमार्फत् राजनीतिक दल र सरकारका नेताहरूले चिकपाबाट आफुले गरेका अपेक्षाबारे लेखेका छन् । चीनका जनताले सबै खालका जोखिम र चुनौतीको सामना गर्दै अर्को शताब्दी लक्ष्य हासिल गरेको हेर्न उनीहरू आशावादी भएको पत्रमा उल्लेख छ ।
उनीहरूले चिकपाले आफ्ना अनुभव अन्य पार्टी र देशलाई पनि आदानप्रदान गर्ने विश्वास व्यक्त गरे । सुरक्षा, जलवायु परिवर्तन र असन्तुलित विकासजस्ता विश्वव्यापी चुनौती सामना गर्नका साथै शान्तिपूर्ण, सुरक्षित र समृद्ध विश्व स्थापनामा थप योगदान गर्न अन्तर्राष्ट्रिय समुदायको चीनले नेतृत्व गर्ने उनीहरूले विश्वास व्यक्त गरे ।

















