काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा आधिकारिकता विवाद निरूपण गर्न आयोगले इजलास गठन गर्नेछ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम विवादका पक्षहरूलाई सहमतिमा विवाद निरूपण गर्ने प्रयोजनका लागि बोलाइए पनि सहमति हुन नसकेको बताए। ‘हामीले दुवै पक्षलाई बोलाएर छलफल गरेका थियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर दुवैपक्षले अब मिलेर जान नसकिने भन्दै अलगअलग गरिदिन माग गरेकाले अब आधिकारिकता विवादको निरूपण इजलास गठन गरी सोहीमार्फत निर्णय हुन्छ।’
प्रवक्ता श्रेष्ठका अनुसार अब आयोगले राजपा आधिकारिकता विवाद सुनुवाइ गर्न प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरूको इजलास गठन गर्नेछ। इजलासमा दुवै पक्षका वकिलले बहस पैरवी गर्नेछन्। इजलास गठन प्रक्रियामा प्रवेश गरेसँगै अब राजपा विवाद अदालती प्रक्रिया अवलम्बन गरी टुंग्याइनेछ। इजलास गठन गर्ने, दुवै पक्षको बहस पैरवी सुन्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एकदेखि डेढ महिनासम्म लाग्ने जानकारी उनले दिए।
छलफलमा ठाकुर पक्षबाट उनी स्वयं, राजेन्द्र महतो, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, सुरेन्द्र झा र केशव झा तथा यादव पक्षबाट उनीसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, मृगेन्द्र सिंह, प्रकाश अधिकारीलगायत उपस्थित थिए। छलफलमा यादव पक्षले प्रतिगमनलाई सहयोग गर्न ठाकुर पक्षले छुट्टाछुट्टै गतिविधि सञ्चालन गरी सँगै बस्न नसकिने स्थिति सिर्जना गरेको बताएको थियो। ठाकुर पक्षले भने यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फुटको अवस्थामा पुगेको बेला आफूहरूले एकता गरेर जोगाइदिएको तर त्यो गुन अहिले बिर्सिएको आरोप लगाएको थियो। नागरिक दैनिकबाट


















