काठमाडाैं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन(पाटा) नेपाल च्याप्टरले हस्पिटालिटी लगायत विभिन्न विषयमा तालिम दिने भएको छ । पाटाले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धन गर्ने उद्देश्यले तालिम दिन लागेको हो ।
पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन लर्निङ प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र टिप्सीका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक टोनीबोल्फबीच नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ मा ‘हस्पिटालिटी ट्रेनिङ- द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिटालिटी प्रोफेसनल र विश्व-विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिटालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो ।
उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल र सेवासँग सम्बन्धित एक हजार बढी अनलाइन पाठमा असीमित पहुँच प्रदान गरिने विज्ञप्ति उल्लेख छ ।
विज्ञप्ति अनुसार नयाँ पुस्तालाई सशक्तिकरण गरिरहेको परिवेशमा अहिलेको समय पर्यटन पुनःसञ्चालन गर्न आवश्यक ज्ञान, सीप, क्षमता, तत्परता एवं तयारीलाई सुदृढ पार्न केन्द्रित हुने छ ।

















