थाहा पाउनोस् नाकको रहस्य

89

डा. रामप्रसाद पोखरेल, वरिष्ठ नेत्र विशेषज्ञ : मानिसको अनुहारमा आँखा र दाँतपछिको अर्को सुन्दर अंग हो, नाक । छोराछोरीले जाँचमा उच्च अंकले पास भए भने जोरीपारीले भन्ने गर्छन्– फलानाका छोराले नाक राखेछ । चोरी गर्यो भने भन्ने गर्छन्– त्यसले त नाकै काटेछ । नाकले कहिलेकाहीं चोरी पनि गर्ने गर्छ । गाँजा खाएको वा रक्सी खाएको परबाटै नाकले चाल पाउँछ । कसको घरमा के पाक्दैछ, अर्को व्यक्तिले पहिले नै चाल पाउँछ । कसैको घरमा आलुतामा पाकेको छ भने अर्को व्यक्तिले केही नभनीकन पहिले नै चाल पाउँछ । यसको मुख्य कारण हो नाकभित्र रहेको ‘अलफेक्टरी ग्ल्यान्ड’ । यसको विकृति भए सुँघ्ने शक्ति हराउँछ, टाउको दुख्न सक्छ, नाकबाट रगत आउन सक्छ ।

कसैलाई नाकभित्रको एक विशेष प्रकारको रोग ‘एट्रोफिक राइनाटिप्स’ छ भने त्यस्ता व्यक्तिको नजिक पर्दा पनि सिनो गन्हाएको जस्तो दुर्गन्ध आउँछ । यही नाक गन्हाउनाले कतिपयको वैवाहिक सम्बन्ध पनि विच्छेद भएको छ । अत्तर वा जुनसुकै फूलको गन्ध पहिले नाकले चाल पाउँछ । दुर्गन्धको सूचना दिने पनि नाकै हुन्छ । बास्ना आउने खाद्य पदार्थ छ भने यसले स्वादमा मिठास भर्छ र त्यही खाद्य पदार्थ नाकलाई मन परेन भने नखाउँ नखाउँ हुन्छ ।

मानिसमा उच्च रक्तचाप छ भने वा मधुमेह भए पनि पूर्वसूचनाको रूपमा नाकबाट रगत बग्न थाल्छ । कसैको नाकको डन्डी बीच भागमा थ्याच्च परेको छ भने आमालाई पहिले सिफलिस भएको शंका गर्न सकिन्छ । नाकको दुवै पोराबाट बराबर सास फेर्न सकेन भने त्यस व्यक्तिले सुतेको बेला मुखबाट पनि सास फेर्नुपर्ने हुन्छ । यसरी आधा मुखबाट र आधा नाकबाट सास फेर्दा सुतेको बेला तालुको पछिल्लो नरम भाग हल्लिएर आवाज निस्कन्छ । यसैलाई घुर्नु भनिन्छ । घुर्ने व्यक्तिसँगै सुतेमा सँगै सुत्ने अर्का व्यक्तिलाई रात काट्नै गाह्रो हुन्छ । घुर्ने बानीका कारण पनि कतिपय दम्पतीको सम्बन्ध विच्छेद भएको पाइएको छ । दुवै नाकबाट सास फेर्न नसक्दा घाँटी सुक्ने, नाकबाट कानमा जाने हावा जान नसक्दा कान नसुन्ने, टाउको दुख्ने हुन सक्छ ।

नाकको पोरामा देखिने रौंलाई नाथे भनिन्छ । नाथेले हावालाई फिल्टर गरेर मात्र भित्र पठाउने हुँदा यसको पनि महत्त्व रहेको छ । कानको मित्र पनि नाक नै हो । आँखा नदेख्ने व्यक्तिले वा चालिसे पुगेका व्यक्तिले चस्मा लगाउनु पर्दा नाककै सहयोग लिनुपर्छ नत्र चस्मा कहाँ लगाउने ? ऋषिमुनिहरू हुन् वा योगसाधना गर्ने व्यक्तिहरू हुन्, श्वासप्रश्वासको माध्यमबाट आफ्नो लक्ष्यप्राप्ति गर्न सफल भइरहन्छन् । नाकका दुवै पोरा बन्द भए सास फेर्न मात्र गाह्रो हुने होइन शरीर नै स्वच्छ रहँदैन र उचित मात्रामा अक्सिजन ब्रेनमा नपुग्दा सोच्ने शक्तिमा ह्रास मात्र होइन दिमागै डल भएर जान्छ । देख्नु भएन त नाकको करामत ? जय जय नासिका !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here