राष्ट्रपति र ओलीबीच वार्ता

61

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई घण्टा लामो संवाद गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले बालकोटबाट शीतल निवास पुगेर राष्ट्रपतिसँग सम्वाद गरेका हुन्।

पछिल्लो केही दिनयता सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिमाथि महाअभियोग तयारी गरिरहेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि सत्तारुढ गठबन्धनको अबको कदम राष्ट्रपतिविरुद्ध पनि हुन सक्ने अनुमान गरिएको छ।

दुईजनाबीचको भेटमा भएको कुराकानीबारे केही सार्वजनिक भएको छैन। तर एमाले सत्ताबाट बाहिरिएपछिको अवस्थालाई लिएर संवाद भएको हुन सक्ने बताइएको छ। एमालेमा जारी विवाकाबीच ओलीले हिजो मात्रै केन्द्रीय कमिटी बैठकमा पार्टी छाडेर हिँडेकाहरुलाई आममाफी दिने घोषणा गरेका थिए ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका ‌ओलीमाथि एमाले एक बनाउने दबाब बढिरहेको छ। ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद बढाउन खोजिरहेका छन्। तर उनले चाहे जसरी नेता नेपाल एकतामा आउन तयार भएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here