अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने

181

काठमाडौं । भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रबाट हराएर अमेरिकाको येल युनिभर्सिटीमा भेटिएको पार्वती मूर्ति यथास्थानमा प्रतिस्थापन गरिने जानकारी प्राप्त भएकाे छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले गोलमढी टोलबाट हराएको मूर्ति अमेरिकाको येल युनिभर्सिटीमा फेला परेको र फिर्ता ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । उनले मूर्ति फर्काउन नगरपालिका तथा स्थानीय वडा तहका निकायले पहल गर्दै आएको जनाए ।  ‘नगरपालिकाले पुरातत्व विभाग, परराष्ट्र मन्त्रालयसहितका सरोकार सम्बद्ध निकायमा पत्राचार गरेर मूर्ति फिर्ता गर्ने पहल सुरु भइसकेको छ,’ मेयर प्रजापतिले कान्तिपुरसँग भने, ‘मूर्ति आएपछि उचित सुरक्षा तथा संरक्षणको प्रबन्धसहित वीरभद्रेश्वर मन्दिरमै राखिने भएको छ ।’

अंशुवर्माकालीन इतिहास झल्काउने पार्वतीको कलात्मक मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल युनिभर्सिटीको म्युजियम अर्काइभमा फेला परेको थियो । नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीबारे अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सार्वजनिक गरेको सूचनापछि गोलमढीबाट हराएको मूर्तिबारे जानकारी आएको हो । सन् ८० को दशकमा भक्तपुर, गोलमढीबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको जानकारी आएको थियो । तर, गोलमढीको वीरेभद्रेश्वर मन्दिरबाट हराएको मूर्ति बौद्धमार्गी ‘तारा’को भनेर चर्चा गरिएकोमा उक्त दाबी गलत रहेको भन्दै स्थानीय श्रद्धालुले गोलमढीबाट हराएको मूर्ति ‘पार्वती’को रहेको जनाएका छन् ।

येल युनिभर्सिटीको वेबसाइटअनुसार, सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त भएको यो मूर्ति सुरुमा स्पिन्क एण्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एण्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ जेम्स दम्पत्तीले यो सम्पदा पाएपछि बीचमा ‘बिक्री बाहिर’ देखिएको यो सम्पदा सन् २००२ मा माइकल एण्ड जर्जिया, न्यूयोर्कमा पुगेको देखिन्छ । एकैपटक सन् २०१५ मा येल युनिभर्सिटीमा यो सम्पदा पुगेको देखिन्छ । तर, यो सम्पदा कसले युनिभर्सिटीलाई बुझाएको हो भन्ने स्पष्ट देखिन्न । भक्तपुरको गोलमढीबाट हराएको दशौं शताब्दीमा बनेको कलात्मक तारा(पार्वती)को मूर्ति अमेरिकाको कनेक्टिकटस्थित प्रतिष्ठित येल विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोललाई यो सम्पदाबारे जिज्ञासा राखिएकोमा उनले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालयसँग ‘परामर्श’ जारी रहेको प्रतिक्रिया दिएकी छिन् ।

गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार पनि यो शिव–पार्वतीको मूर्ति अंशुवर्माकालीन प्रमाणित भएको छ । इतिहासविद् धनब्रज्र बज्राचार्यको ‘लिच्छवीकालका अभिलेख’ (२०३०) कृतिमा यो गोलमढी शिवदेव सम्वत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापित गरिएको उल्लेख छ ।

युनेस्को अभिसन्धि र ‘सम्पदा उत्तपत्ति मुलुक’को आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालके सम्पदा तत्काल घर फर्कनुपर्नेमा नगरपालिका र स्थानीय निकाय, गोलमढीबासीको जोडबल रहेको मेयर प्रजापतिले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here