दश घण्टापछि नेबिको बिस्कुटमा लागेको आगो नियन्त्रणमा

394

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उत्पादन गर्ने कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । अग्नि नियन्त्रकलाई उक्त आगो नियन्त्रणमा लिन १० घण्टा लागेको थियो ।

शनिबार बिहान २ बजेदेखि शुरु भएको आगो अपराह्न १२ बजेमात्रै नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रका सबै दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको दमकल प्रयोगमा ल्याइएको थियो ।

नेपालकै पहिलो र अग्रणी बिस्कुटका रूपमा स्थापित उक्त बिस्कुट कारखानामा आगलागी हुँदा करोडौँ रुपियाँबराबरको बिस्कुटलगायतका सामग्री जलेर नष्ट भएको थियो ।

आगलागी नियन्त्रण लिन ८ वटा दमकल प्रयोग गरिएको सैनिक मुख्यालयले जानकारी दिएको छ । आगो नियन्त्रणमा लिन सुरक्षा निकायले २५ वटा ट्याङ्कर प्रयोग गरेको थियो । ती ट्याङ्करले निरन्तर पानी बोकेका थिए । आगो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकोप्टरसमेत प्रयोग गरिएको थियो ।

झन्डै एक अर्बको लगानीमा सञ्चालनमा आएको उक्त फ्याक्ट्रीमा केही समय अघिबाट नयाँ प्लान्ट जडान गर्ने काम शुरु गरिएको उक्त प्रालिले जानकारी दिएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘आगो नियन्त्रणमा आएकाले क्षतिको विवरण संकलन गर्ने काम शुरु भएको छ आइतबारसम्म क्षतिको बिवरण आउला ।’ ३ सयभन्दा बढी कामदार कार्यरत रहेका छन् । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो । नेबिको प्रालिले वार्षिक १ अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here