सेती लोकमार्गलाई विशेष प्राथमिकतामा

124

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको गौरव ‘सेती लोकमार्ग’लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने बताउनुभएको छ ।
उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सोमबार यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “सेती लोकमार्ग सुदूरपश्चिम प्रदेशको मात्र नभई राष्ट्रकै लागि गौरवको आयोजना हो । यस विषयलाई मैले विशेष रूपमा लिएको छु । भारत–नेपाल–चीन जोड्ने यो लोकमार्ग बहुउपयोगी छ ।”

कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ । निर्माण सुरु भएको १२ वर्षसम्म पनि १३० किलोमिटर मात्र ‘ट्र्याक’ खुलेको छ ।
नेपाली काँग्रेस अछामका नेता मेघराज खड्काले सेती लोकमार्ग सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय गौरवको आयोजना भएकाले उच्च प्राथमिकतामा राखी निर्माण कार्यमा तीव्रता दिन र पर्याप्त बजेट विनियोजनका लागि प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।
आर्थिक वर्ष २०६५/६६ बाट सुरु भएको सेती लोकमार्ग भारत र चीनको सीमा जोड्ने छोटो सडक मार्ग पनि हो । उहाँले विगतका सरकारले सेती लोकमार्गलाई उच्च प्राथमिकतामा राखी पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण अधुरै रहेको बताउनुभयो ।
भेटमा काँग्रेसका पूर्वमन्त्री एवं केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका नेताहरू सहभागी हुनुहुन्थ्यो । उहाँहरूले प्रधानमन्त्री देउवालाई सेती लोकमार्ग भारत–नेपाल–चीनबीच त्रिदेशीय सम्बन्धसँगै बहुउपयोगी रहेको स्मरण गराउनुभयो ।
कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म करिब २४२ किलोमिटर सडकको ट्र्याक खोल्न रेखाङ्कनसमेत भइसकेको छ । गोरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here