रूपन्देही । लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटुरोगका बिरामीलाई २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णयसमेत गरेको छ। बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासीलाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ।
यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा एक/एक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।














