श्रद्धा र विश्वासको पर्व नाग पञ्चमी आज मनाईदै

123

काठमाडौं । नाग पञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि शुभ मानिन्छ । हिन्दु धार्मिक ग्रन्थहरुमा श्रावण महिनालाई आराध्यदेव शिवको पूजा उपासना गर्न सर्वोत्तम महिनाको रुपमा परिभाषित गरिएको छ।

यद्यपि शिवरात्रिको महिमा पनि उत्तिकै महत्वका साथ गरिएको भएतापनि श्रावण महिनामा गरिएको शिव अनुष्ठानले सजिलै शिवजीलाई प्रसन्न गराउन सकिने हुनाले भक्तजनहरुले चाहना गरेको फल यथाशीघ्र प्राप्त हुने उल्लेख गरिएको छ। यही मान्यतालाई आत्मसात् गर्दै सनातन हिन्दू धर्माबलम्बीहरु शिवालयमा बेलपत्र,गाईको दुध लगायतका उपचार सामाग्रीहरू चढाएर पूजाअर्चना गर्ने तथा यस महिनामा पर्ने सोमबारका दिन व्रत लिने गर्दछन्।

नाग पञ्चमीको विशेषता
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।

नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा मध्याह्नको समयसम्म निर्जल व्रत बसेर दिनको मध्यबिन्दुमा नाग देवताको पूजाका लागि खीर (प्रसाद) पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मंदिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रुपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ ।

व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरुको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ़्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here