काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका – ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।
यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरबारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।


















