हटौंडा । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ।
नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ गते शुक्रबारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमबारदेखि भदौ १२ गते शुक्रबारसम्म तोकिएको छ। शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ।
यसैबीच बढी भीडभाड हुने हेटौँडास्थित मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक साताका लागि बन्द गरिएको प्रजिअ पाण्डेले बताए। मकवानपुरमा कोभिड सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो। मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजेसम्म सञ्चालन हुनेछन् भने अन्य व्यवसाय १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने प्रजिअ पाण्डेले बताउनुभयो । यसअघि बजार खुल्ने समय खाद्यान्न १० बजेसम्म र अन्य १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको थियो।
बैठकले बैंक तथा वित्तीय संस्था हरेक दिन १० बजेदेखि २ बजेसम्म खुला रहने निर्णय गरेको छ। त्यसैगरी मकवानपुरमा मास्क अभियानलाई सशक्तरूपमा लैजाने निर्णय भएको छ । मास्क नलगाउनेलाई जरिवानासमेत लिइने छ । जारी निषेधाज्ञा आगामी भदौ १० गतेसम्म थप गरिएको छ। समय सीमालाई बेवास्ता गरी व्यवसाय गरिएको पाइएमा कडाभन्दा कडा कारवाही गरिने जनाइएको छ। रासस

















