काठमाडाैं । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा खुकुलो पारिएको छ। यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।
परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले जनाए ।
कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए। नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।
पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।
विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।


















