काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

61

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो जनाउनुभएको हो । ‘काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने ।

 ‘टिमवर्कले गर्दा महानगरपालिकाको लगानीमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । अहिले अन्तिम कार्य अर्थात छानो छाउने काम भैरहेको छ,’ प्रमुख शाक्यले भने, ‘काष्ठमण्डप राम्रो बनाउनुपर्छ, चाँडो बनाउनुपर्छ र यसको ऐतिहासिक र सांस्कृतिक पक्षमा कुनै आँच नआउने गरी पुनर्निर्माण गर्नुपर्छ भनी अनवरत यस कार्यमा लागेका कारण काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भयो ।’

उनले राम्रो काममा सबैको साथ र सहयोग चाहिन्छ भन्दै  सबैतिर राजनीतिक तवरले मात्र अघि बढ्न खोज्यो भने सफलता हात नपर्ने दृष्टान्त जनाए ।  ‘राम्रो कामको लागि सबै समुदाय, राजनीतिक कार्यकर्ता वा प्रतिनिधिहरु हातेमालो गरेर अघि बढ्नुपर्छ,’ शाक्यले भने, ‘काष्ठमण्डप यसको एउटा उदाहरण हो ।’

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष समेत रहनु भएका बागमती प्रदेश सांसद राजेश शाक्यले अहिलेसम्म काठमाडौं महानगरपालिकाबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी गराए।  शाक्यले काष्ठमण्डपको छानो छाउने काम भैरहेको भन्दै अब छिटै काम सम्पन्न गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here