मध्य भोटेकोशी जलविद्युत्काे आईपीओ बाँडफाँट

42

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि सोमबार आईपीओ बाँडफाँट गरेको छ।

कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो। विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम सेयर दिइएको छ।

१९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म सेयर हात पारेका छन्।  त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले सेयर पाएका छन्।

आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म सेयर पाएका छन्।  यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ। कुल आवेदकमध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए। यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा सेयर बाँडफाँट गरिएको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत सेयर निष्काशन गरेको हो। जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिकाको वडा नं. १ र ५ (साविक लिस्ती र साविक मार्मिङ), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र साविक मानेश्वरा)मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि १८ लाख कित्ता साधारण सेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशत ले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो । यस अघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो। उक्त सेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गरेको थियो।

सर्वसाधारणका लागि  १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत सेयर स्थानीयमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले  ९० करोड बराबरको ९० लाख कित्ता सेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ।

यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी  ६ अर्ब रुपैयाँ पुग्नेछ। यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here