काठमाडाैं । अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ बजारमा अाएकाे छ ।
बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र विषयवस्तुको चर्चा, चिन्तन–मनन र विश्लेषण गरिएका ५४ वटा आलेख सङ्गृहीत छन्।
शास्त्रीय पद्धति अनुसार नभएर बौद्ध दर्शनलाई सर्वसुलभ बनाउन र सर्वसाधारण माझ सहज चिन्तनको संस्कृति बसाल्न यो पुस्तक लेखिएको महर्जनले बताए। बौद्ध दर्शनको मूलभूत मान्यताका रूपमा लिइने त्रिलक्षण अन्तर्गतको अनित्य, दुःख र अनात्म, प्रतीत्यसमुत्पाद, मध्यम मार्ग, विभिन्न यान र सम्प्रदायको विकास तथा त्यसको तात्पर्यमाथि पुस्तकमा चर्चा गरिएको छ।
यसरी नै बुद्ध र बुद्ध वचन सम्बन्धी चर्चा गर्दै चतुर्ब्रह्मविहार, निर्वाण, पूर्वजन्म र पुनर्जन्मका सम्बन्धमा चर्चा गरिएको छ जुन बौद्ध दर्शनको अध्ययनका लागि आधारभूत ज्ञान मानिन्छ। यसरी नै हिंसा र अहिंसा, जातिवादको अनौचित्य, लैंगिक विभेद विरुद्धका उपदेशहरू तथा सामाजिक विषमतामाथि पुस्तकमा विश्लेषण गरिएको छ। यसलाई इन्साइट पब्लिकेशनले प्रकाशन गरेको हो।


















