सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने संरचना निर्माण गर्न ऊर्जा मन्त्रीकाे अपिल

50

ललितपुर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्थापित गरौँ ।’

लोडशेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले अगाडि भन्नुभयो, ‘बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युतकाे चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युतकाे अधिकतम प्रयोग गरौँ ।’

सामाजिक एवम् आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै उहाँले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतकाे प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

आउँदा दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने विश्वास दिलाउँदै उहाँले सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युतकाे प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासको भन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।’

ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजया दशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठ पर्वका  उपलक्ष्यमा आज आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउनुभयो । आफ्नो निर्णयले ग्रामीण नागरिकका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उहाँको थियो ।

कृषि क्षेत्र देशको आर्थिक आधार भएको उल्लेख गर्दै मन्त्री भुसालले खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने र त्यसका लागि आवश्यक पर्ने विद्युतमा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पार्नुभयो ।
महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै मन्त्री भुसालले परिवारिक सम्बन्धमात्र होइन घर, समाज र देशप्रति एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा स्थानीय जनप्रतिनिधि एवम् सामाजिक नेतृत्वले नजिकिँदै गरेको चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष  सञ्जय नारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here