डोटी । केही दिनदेखि भएको अविरल वर्षापछि आएको बाढी-पहिरोमा परी डोटीमा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका-५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका- ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा बिक, सायल गाउँपालिका-१ का ७४ वर्षीय बिरे रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उता जोरायल गाउँपालिका-४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको छ। ४२ वर्षीय शेरबहादुर बिकको घर भत्किँदा उनीसहित १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पवित्रा बिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। मामाघर आएका १६ वर्षीय रविन बिकको पनि घर भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका-११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, सोमबार रातिको पहिरोले घर पुरिँदा सायल गाउँपालिका-६ का बीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो।


















